×

भारतीय निर्वाचनले अतिवाद र घृणाको राजनीतिलाई परास्त गरेको छ

images

पाटन (ललितपुर), २८ जेठः भारतीय राजनीतिका जानकारहरुले हालै सम्पन्न भारतीय निर्वाचनले अतिवाद र घृणाको राजनीतिलाई परास्त गरेको विश्लेषण गर्नुभएको छ । 

भारतीय निर्वाचनको प्रभावका सन्दर्भमा आधारित रहेर पाटनढोकास्थित यलमाया केन्द्रमा आज आयोजित अन्तरक्रियामा सहभागी  विज्ञ, भारतीय राजनीतिका जानकार, कूटनीतिज्ञले निर्वाचनबाट भारतमा घृणाको राजनीतिले प्रशय पाउनुहुँदैन भन्ने मान्यता स्थापित भएको बताउनुभयो । 

 उहाँहरुले निर्वाचनको परिणामले सत्तापक्षभित्रै पनि प्रतिपक्षको भूमिका निर्वाह गर्नसक्ने जमातका कारण सरकार टिकाउन नै हम्मेहम्मे पर्नसक्ने धारणा राख्नुभयो । 

कान्तिपुर दैनिकका पूर्वसम्पादक तथा कूटनीतिक मामिलाकार जानकार सुधीर शर्माले विगतको निर्वाचनको परिमाणभन्दा अहिलेको निर्वाचनले भारतीय सत्तापक्षलाई कमजोर बनाएको बताउँदै नेपालले यसको फाइदा लिनसक्नुपर्ने बताउनुभयो । 

“अहिलेको परिमाणअनुसार भारतीय सत्तापक्ष नेपाललाई प्राथमिकतामा राख्नसक्छ, यसबाट हामीले धेरै फाइदा लिनसक्ने अवस्था छ । सञ्चारमाध्यमलाई पनि सत्ताको पछाडि अन्धभक्त भएर लाग्नु हुँदैन भन्ने सिकाएको छ”,  उहाँले भन्नुभयो ।
    उहाँले निर्वाचनले ल्याएको परिणामलाई नेपाल–भारत सम्बन्धका हिसाबले हेर्दा उनीहरुको नेपालप्रतिको नीति र सम्बन्धमा केही नयाँ चुनौती थपिएको बताउनुभयो । “राजनीति स्थितिलाई यथास्थितिमा राखेर आर्थिक गतिविधिलाई बढाउने भारतीय रणनीति देखिन्छ”, उहाँले भन्नुभयो ।

सन् २०१४ को निर्वाचनपछि नेपाल भारतीय सत्तापक्षको प्राथमिकतामा थियो भन्नुहुँदै उहाँले त्यो स्थिति एक वर्ष पनि टिक्न नसकेको बताउनुभयो । “सन् २०१५ मा नेपालमा संविधान जारी भयो, भारतले स्वीकार गर्न सकेन, त्यसपछि नाकाबन्दी भयो, अहिले पनि उसको सम्झौतापरक नीति देखिन्छ, विश्व परिदृष्यमा भारतको महत्वकाङ्क्षा बढिरहेको छ, यसलाई हामीले पनि ध्यानपूर्वक हेर्नुपर्छ”, शर्माले भन्नुभयो ।

    सञ्चारकर्मी जेबी पुनमगरले भारतीय निर्वाचनमा पत्रकार पनि चुकेको बताउनुभयो । नेकपा (एमाले)का नेता रघुजी पन्तले सन् २०१४ मा भारतीय जनता पार्टीले घोषणापत्रमा सार्कलाई बलियो बनाउने नीति लिए पनि अहिले उसले छाडेको बताउनुभयो । 

    अग्रज पत्रकार कनकमणि दीक्षितले अहिले निर्वाचनले मोदीलाई केही कमजोर बनाएको जस्तो देखिए पनि सोचमा भने कमजोर नबनाएको धारणा राख्नुभयो । अन्तरक्रियामा सहभागीले भारतीय निर्वाचनको परिणामले नेपाली जनस्तरमा आशावादी बनाएको उल्लेख गर्नुभयो ।

सोमबार २७ जेठ २०८१ १०:०२ PM मा प्रकाशित

प्रतिक्रिया