×

पाशुपत क्षेत्र भाषण गर्ने ठाउँ होइन : मन्त्री तामाङ

images

काठमाडौँ, २८ वैशाख : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पाशुपत क्षेत्र  विश्वभर फैलिएका सनातन धर्मावलम्बीको पवित्र स्थल भएको र यो भाषण गर्ने ठाउँ नभएको बताउनुभएको छ ।

  पशुपति क्षेत्र विकास कोषको ३८ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै मन्त्री तामाङले राष्ट्रदेव पशुपतिनाथमा आएर राजनीति गर्ने र कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “गैरराजनीतिक ठाउँअर्थात् धार्मिकस्थलमा आएर राजनीति गर्न कसैलाई छुट छैन, धार्मिक क्षेत्रमा आएर राजनीति नगर्नु होला ।”

यसैगरी उहाँले कोषलाई राजनीतिक स्वार्थ पूरा गर्ने थलोको रुपमा हेर्न नहुनेसमेत बताउनुभयो । उहाँले पछिल्लो समय विकास कोष राजनीति गर्ने थलोको रुपमा प्रयोग भएको भन्ने सुन्नमा आएकाले अब त्यस्तो हुन नदिने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले भन्नुभयो, “पाशुपत क्षेत्र गैरराजनीतिक आध्यात्मिक पवित्र थलो हो, यहाँ धार्मिक उद्देश्य प्राप्तिको निम्ति काम गर्नुपर्छ ।” पशुपति क्षेत्र, विश्व सम्पदा सूचीमा सूचीकृत, पूर्वीयदर्शन र पूर्वीय संस्कृतिको महत्वपूर्ण केन्द्र रहेकाले यसले विश्वमा नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ छ । 

सोही कार्यक्रमलाई सम्बाधोन गर्नुहुँदै मन्त्री तामाङले करोडौँ जनसङ्ख्या भएको हिन्दू धर्मप्रति आस्था राख्ने भारतका हिन्दू धर्मावलम्बीलाई सहजरुपमा भित्र्याउन पाशुपत क्षेत्रमा धार्मिक पर्यटकका लागि रमणीय भौतिक र आध्यात्मिक परिवेश बनाउन आवश्यक रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामीले पशुपति क्षेत्रमा रमणीय र आध्यात्मिक परिवेश बनाउनसके मुलुकको विकासको लागि आर्थिक उन्नति र प्रगतिमा अभूतपूर्व योगदान पु¥याउने छ, यहाँको विकासका लागि सबैको सहयोग आवश्यक छ ।” 

यसैगरी कोषका सदस्य सचिव डा मिलनकुमार थापाले भगवान् पशुपतिनाथ तथा विकास कोषको हितका लागि आफू सधैँ अग्रसर रहने बताउनुभयो । उहाँले भन्नुभयो, “शिवस्व खानुहुन्न भन्ने मेरा पिता पुर्खाको अर्ति छ, म शिवस्व खान्न बरु घरबाट ल्याएर भए पनि यहाँको विकास गर्छु ।”

  कोषको अहित चिताउने केही बिरोधीतत्वका कारण आफूले विगतमा निकै दुःख पाएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “पशुपति विरोधी तथा यहाँको विकासमा अहित चिताउनेले आफ्नो स्वार्थ पूर्ति नहुँदा मलाई बिगतमा दिनु दुःख दिए, म त्यस्ता विरोधीलाई भन्छु मैले गलत काम गर्दिन ।”

शुक्रबार​ २८ बैशाख २०८१ ०३:४१ PM मा प्रकाशित

प्रतिक्रिया