×

सलमान खानको फिल्म ‘किसी का भाइ किसीको जान’ काे नयाँ गीत विवादमा

images

काठमाडौं । भारतीय अभिनेता सलमान खानको आगामी फिल्म ‘किसी का भाइ किसी का जान’ को नयाँ गीत ‘यन्तमा’ विवादमा परेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार यो गीतमा दक्षिणी संस्कृतिको अपमान गरिएको बताइएको छ । भारतीय पूर्व क्रिकेटर लक्ष्मण शिवरामकृष्णनले सलमान खानमाथि आक्रोश पोखेका छन् ।

उनले यो गीतमा सलमानले परम्परागत साउथ इन्डियन ड्रेस लगाएर आपत्तिजनक डान्स स्टेप गरिरहेका भन्दै आक्रोश पोखेका छन् ।

‘किसी का भाइ किसीको जान’ को ‘यन्तमा’ गीत ५ अप्रिलमा रिलिज भएको थियो । यस गीतमा साउथ स्टार वेंकटेश दग्गुबाती र रामचरण पनि देखिएका छन् । यो गीतमा सलमान लुंगी उठाएर नाचिरहेका छन् । लुंगी दक्षिण भारतको परम्परागत पोशाक हो । यस पहिरनलाई पवित्र मानिन्छ ।

तर, अहिले यो विषयमा साउथ क्रिकेटरदेखि कलाकारसम्मको विरोध भइरहेको छ । शिवरामकृष्णनले ससामाजिक सञ्जालमा लेखेका छन्, ‘यो अत्यन्तै अपमानजनक र हास्यास्पद छ । यो परम्परागत पोशाकलाई निकै नराम्रो तरिकाले देखाउने प्रयास गरिएको छ ।’

उक्त गीतमा हिन्दी र तेलुगू मिश्रित शब्द छन् । गायक–संगीतकार विशाल ददलानी र पायल देवको स्वर रहेको गीतमा रफ्तारको शब्द र सब्बीर अहमदको संगीत छ ।

‘किसी का भाइ किसी की जान’ इदको अवसर पारेर आगामी वैशाख ८ गते रिलिज हुँदैछ । लामो समयपछि सलमान फिल्ममा पुनरागमन गर्दैछन् । यस फिल्ममा वेंकटेश दग्गुबाती, पूजा हेग्डे, राघव जुयाल, शहनाज गिल र सिद्धार्थ निगमको पनि प्रमुख भूमिका छ । एजेन्सी

सोमबार २७ चैत २०७९ १२:२१ PM मा प्रकाशित

प्रतिक्रिया