×

५१ पशुपक्षी फार्मलाई अनुदान

images

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७८÷७९ मा तीनवटा कार्यक्रममार्फत ५१ वटा पशुपक्षी फार्मलाई अनुदान उपलब्ध गराउने भएको छ । 

साना पशुपक्षी तथा मत्स्य व्यवसाय फार्म विस्तार तथा स्थापना गर्न ४०, नयाँ मत्स्य पोखरी निर्माणका लागि सात र माछा, मासु तथा डेरी पसल निर्माण सुधारका लागि चारवटा फार्म छनोट भएका हुन् । केन्द्रबाट उनीहरुले रु ५८ लाख ५० हजार अनुदान पाउने भएका छन् । 

केन्द्रका सूचना अधिकारी तथा पशु सेवा प्राविधिक सुभास रेग्मीले छनोट भएका ५१ वटा फार्मका सञ्चालकसँग अनुदान उपलब्ध गराउने सम्झौता गरिसकेको जानकारी दिनुभयो । “सार्वजनिक सूचना जारी गरेर प्राप्त भएको आवेदनको स्थलगत मूल्याङ्कन गरेर कार्यविधिअनुसार छनोट र सम्झौता गरिएको हो”, उहाँले भन्नुभयो, “कूल लागतको ५० प्रतिशत अनुदान उपलब्ध गराउने र आधा रकम सञ्चालकले ब्यहोर्नुपर्ने सम्झौता छ ।”

कूल रु ५२ लाख ५० हजार बजेट विनियोजन भएको साना पशुपक्षी फार्म विस्तार तथा स्थापना कार्यक्रमका लागि १५८ वटा आवेदन परेको थियो । रु दुई लाख बजेट विनियोजन भएको नयाँ मत्स्य विकास कार्यक्रम र रु चार लाख बजेट रहेको माछा, मासु तथा डेरी पसल निर्माण सुधार कार्यक्रममा आठ–आठवटा आवेदन परेका थिए । 

बाख्रा, गाईभैँसी, बङ्गुर, कुखुरापालनका पुराना फार्मको क्षमता विस्तार र नयाँ फार्म स्थापना गर्न रु एक लाख ३२ हजार २५० का दरले अनुदान पाउने केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले बताउनुभयो । नयाँ मत्स्य पोखरी निर्माणका लागि रु ५० हजारका दरले र मासु, डेरी पसलले रु एक लाखका दरले अनुदान पाउने भएका छन् । 

दूध, माछा, अण्डा उत्पादन बढाएर आत्मनिर्भर बनाउने र पशुपालनतर्फ आकर्षण बढाउन गण्डकी प्रदेश सरकारको योजनाअनुसार अनुदान दिन लागिएको हो । छनोट भएका सबै फार्मका सञ्चालकलाई अभिमुखीकरण गरिएको थियो । बाँकी कार्यक्रमका लागि पुनः सूचना आह्वान गरिएको केन्द्रले जनाएको छ ।

बिहीबार २७ माघ २०७८ ०४:४३ PM मा प्रकाशित

प्रतिक्रिया