×

एमसीसी नेपालको लागि राम्रो हो, पारित गर्नुपर्छ : शशांक कोइराला

images

काठमाडौं ।   नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले एमसीसी नेपालको लागि राम्रो भएको बताएका छन्। पार्टीको कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले एमसीसीको बारेमा जनताहरुलाई सम्झाउने बताए।

‘एमसीसी नेपालको लागि राम्रो हो। अमेरिकी सेनाहरु यहाँ आउने होइन। यहाँकै नियम कानुन अनुरुप एमसीसी चल्छ। ५०० मिलियन डलरको यो ग्रान्डमा कुनै किसिमको स्ट्रिङ एट्याच छैन,’ उनले भने।

एमसीसी विद्युत र बाटोहरुको लागि भएको उनले बताए। बैठकमा नेता रामशरण महतले एमसीसीको बारेमा ब्रिफिङ गरेको उनले जानकारी दिए। महतले बैठकमा यसलाई स्वीकार गर्नुपर्छ भन्ने आफ्नो तर्कहरु राखेको कोइरालाले बताए।

सभापति शेरबहादुर देउवाले यसबारे अन्य नेताहरुसँग कुरा गर्ने बताएको उनले जानकारी दिए। एमसीसी पास गर्नुपर्छ भन्ने आफूहरुको धारणा रहेको कोइरालाले बताए।

त्यस्तै, बैठकमा गठबन्धनको विषयमा आफूले कुरा राखेको उनले बताए। उनले कांग्रेसले आफ्नै अस्तित्व जोगाउनु पर्छ भन्ने कुरा राखेको बताए।

‘हामी अन्य पार्टीसँग नमिलेर नै जानुपर्छ भन्ने कुरा राखेँ। यसप्रति धेरै नेताहरुको पोजिटिभ एट्टिच्युड थियो,’ उनले भने।

यसैगरी, भातृ तथा शुभेच्छुक संस्थाहरुको बारेमा छिटो भन्दा छिटो टुंगो लगाउनु पर्ने बैठकमा कुरा भएको उनको भनाइ थियो। नयाँ समिति बनाएर केही भातृ संगठनहरुको स्थानीय तहको निर्वाचनभन्दा पहिले र केहीको पछि अधिवेशन गर्ने भन्ने कुरा भएको उनले जानकारी दिए।

उनले बैठकमा गठबन्धनको भविष्यको विषयमा केही कुरा नभएको बताए।

बिहीबार २७ माघ २०७८ ०५:२५ PM मा प्रकाशित

प्रतिक्रिया