×

प्रचण्डलाई शेखरले भने – स्थानीय तहमा गठबन्धन हुँदैन

images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

नेता कोइराला भेटवार्ताका लागि आज बिहान प्रचण्ड निवास खुमलटार गएका थिए । काँग्रेस नेता अमरेशकुमार सिंहसहित प्रचण्ड निवास खुमलटार पुगेका कोइराला र प्रचण्डबीच गठबन्धन, एमसीसी, संसद् खुलाउने लगायतका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । 

 कोइरालाले संसद्लाई बन्धक बनाउन नहुने धारणा राखेका थिए । ‘संसद्लाई बन्धक नबनाऊ, जे जे गर्ने हो संसद्बाटै छिनोफानो गरौँ’, कोइरालाले अध्यक्ष प्रचण्डलाई गरेको आग्रह उद्धृत गर्दै थपलियाले भने, ‘जवाफमा प्रचण्डले गठबन्धनको कुरा गर्नुभयो ।’ प्रचण्डले स्थानीय चुनावमा गठबन्धन बनाएर जाऔँ भनेर गरेको प्रस्तावलाई कोइरालाले अस्वीकार गरेका थिए । ‘वडा वडामा गठबन्धन सम्भव छैन । केन्द्रबाट तोकेर एलाइन्समा चुनाव लड्ने कुरा म अन्तिमसम्म विरोध गर्छु, बरु चुनावपछि सहकार्य गर्न सकिन्छ’, प्रचण्डलाई कोइरालाको जवाफ थियो ।

यसअघि कोइरालाले मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बालकोट पुगेर भेटेका थिए । थपलियाका अनुसार प्रचण्डले पटक–पटक चुनावी गठबन्धनको कुरा गरेका थिए तर कोइरालाले त्यसलाई अस्वीकार गरेका थिए । ‘स्थानीय चुनावमा त गठबन्धनको कुरै नगरौं । केन्द्रको चुनावमा पनि कांग्रेसलाई कम्युनिष्टले भोट हाल्दैनन् । चुनावी गठबन्धन हामी कसैको हितमा हुँदैन’, कोइरालाले प्रचण्डलाई भने । 


 

बिहीबार २७ माघ २०७८ १२:०७ PM मा प्रकाशित

प्रतिक्रिया