×

कथित तपस्वी बम्जनको घरबाट तीन करोडभन्दा बढी नगद बरामद

images


काठमाडौं । प्रहरीले तथाकथित तपस्वी रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई पक्राउ गरी उनको घरमा छापा मारेर तीन करोड तीन लाखभन्दा बढी नगद बरामद गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता नवराज अधिकारीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ टन गाउँमा बस्दै आएका बम्जनको घरबाट उक्त रकम बरामद गरेको जानकारी दिए ।

प्रवक्ता अधिकारीका अनुसार तीन करोड तीन लाख ७५ हजार पाँच सय नेपाली रुपैयाँ, विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ गरी तीन करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बरामद भएको हो ।

यसैगरी, प्रहरी मोटरसाइकको बिलबुक तीन थान, गाडीको चाबी एक थान, विभिन्न ब्राण्डका पेन ड्राइव २० वटा, भ्वाइस रेकर्डर एक थान, मेमोरी कार्ड दुई थान, ल्यापटप दुई थान, मोबाइल १४ थान तथा आइप्याड र ट्याप पाँच थान बरामद गरेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

उनका अनुसार बम्जनको आश्रमबाट विभिन्न समयमा वेपत्ता भएका अनुयायीहरुको सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भइरहेको छ । बम्जनलाई पक्राउ गरिएको बारे बुधबार औपचारिक जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनलाई बूढानीलकण्ठ नगरपालिका, वडा नं ६, टन गाउँबाट पक्राउ गरिएको हो ।

विसं. २०७१ साउनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा रहेकी आनीले उनीविरुद्ध उजुरी दिएकी थिइन् । बाल यौन शोषण गरेको मुद्दा लागेपछि फरार रहेका बाराको रतनपुरी स्थायी वतन भएका बम्जनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले २०७६–१०–२३ अनुमति दिएको थियो ।

यसैगरी, प्रतिवादीलाई पक्राउ गरी उपस्थित गराई गराउन जिल्ला प्रहरी कार्यालय, सर्लाहीले पनि २०७६–१०–२४ पत्राचार गरेकामा खोजतलासका क्रममा मङ्गलबार बम्जनलाई पक्राउ गरिएको हो । बम्जनको खोजतलास गर्ने क्रममा मङ्गलबार  राति १९ः १५ बजे पक्राउ गर्न घरमा प्रवेश गर्दा  झ्यालबाट खाली रहेको भिरालो जमिनमा हाम फाली भाग्ने क्रममा ब्यूरोको टोलीले पक्राउ गरेको पत्रकार सम्मेलनमा प्रवक्ता अधिकारीले जानकारी दिए

बुधबार २५ पुस २०८० ०२:५५ PM मा प्रकाशित

प्रतिक्रिया