×

युक्रेनलाई सहयोगमा पश्चिमीको हिचकिचाहटले पुटिनलाई सहयोग गर्छ– जेलेन्स्की

images

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किएभलाई पश्चिमी सहयोगमा कुनै पनि ढिलाइले रुसी आक्रमणको करिब दुई वर्षपछि क्रेमलिनलाई हौसला प्रदान गरेको बुधबार चेतावनी दिनुभएको छ । 

 जेलेन्स्कीले किएभको सबैभन्दा कट्टर सहयोगीमध्येको एक लिथुआनियाको राजधानी भिल्निअसको अचानकको भ्रमणका क्रममा उक्त कुरा बताउनुभएको हो । 

 “उहाँ (रुसी राष्ट्रपति भ्लादिमिर पुटिन) रोकिनु हुन्न, उहाँ हामीमाथि सम्पूर्णरूपमा कब्जा गर्न चाहनुहुन्छ”, आफ्ना लिथुआनियाली समकक्षी गितानास नौसेदासँगको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “कहिलेकाहीँ युक्रेनलाई वित्तीय तथा सैन्य सहयोगका सम्बन्धमा साझेदारहरूको असुरक्षाले केवल रुसको साहस र शक्तिलाई बढाउँछ ।”

अन्य पश्चिमी मुलुकहरूले युक्रेनलाई निरन्तर समर्थन दिन हिचकिचाइरहेका बेला उहाँले यस्तो बताउनुभएको हो । उहाँले सहयोगी मुलुकहरू पुटिनलाई रोक्नका लागि एकजुट नभएसम्म पुटिन युक्रेनमा नरोकिने बरु अन्य छिमेकी मुलुकमा हमला गर्ने चेतावनी दिनुभयो । 

“उहाँ (पुटिन) यो युद्धलाई त्यतिबेलासम्म समाप्त गर्नुहुन्न जबसम्म हामी सबै मिलेर उहाँलाई समाप्त गर्दैनौँ”, राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो, “यदि हामी (युक्रेन) रुसको सामना गर्न सक्तैनौँ भने अर्को आक्रमणको स्थानमा लिथुआनिया, लाट्भिया, एस्टोनिया, मल्दोभा हुनसक्छ भन्ने हामीले बुझ्न जरुरी छ ।”

युक्रेनले रुसको नयाँ सिराबाट हवाई हमलाको सामना गर्नुपरिरहेको बेला उहाँको यस्तो टिप्पणी आएको हो । किएभलाई थप समर्थन दिन आग्रह गरिएको छ जसमा आधुनिक हवाई रक्षा प्रणालीहरूको अत्यन्त कमी देखिन्छ । 

    राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो, “हालका दिनमा रुसले युक्रेनमाथि कूल पाँच सय उपकरणले हमला गरेको छ, हामीले तीमध्ये ७० प्रतिशत नष्ट गरेका छौँ, हामीसँग अभाव भएको भनेको हवाई रक्षा प्रणाली हो ।”

    अन्य पश्चिमी समर्थकहरूको ढुलमुले समर्थनलाई बलियो गर्न खोजिरहनुभएको बेला जेलेन्स्कीको लिथुआनिया भ्रमण भएको हो । पूर्वसोभियत सङ्घका तीन गणराज्यमध्ये यस वर्षको जेलेन्स्कीको पहिलो आधिकारिक विदेश भ्रमण हो । तीनै मुलुक अहिले नेटोका सदस्य छन् । 

बुधबार २५ पुस २०८० ०९:१८ PM मा प्रकाशित

प्रतिक्रिया