×

एमाले , कांग्रेसको चाहना संविधान संशोधन होइन, खारेजी हो- प्रचण्ड

images

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू संविधान संशोधन, परिमार्जनको विरोधी नभएको बताएका छन साथै सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस संविधान खारेज गर्न लागिरहेको आरोप लगाएका छन्।   बुधबार बिहान सम्पादकहरूसँगको अन्तरक्रियामा उनले भने, ‘उहाँहरूको चासो संविधान संशोधन हो भन्ने मलाई लाग्दैन, उहाँहरूको चाहनाचैँ संविधान खारेजी हो। एकैचोटि खारेज भन्न त भएन, पहिलो संशोधन भन्नपर्‍यो। यो कूटनीतिक भाषा हो। सदन पटकपटक विघटन भयो नि, जनताले हुँदैन भन्दाभन्दै पनि। त्यो सदन विघटन मात्रै थिएन, त्यसको मूल उद्देश्य संविधान विघटन थियो।’ 

उनले थपे, ‘उहाँहरूलाई समावेशिता मन परेको छैन, समानुपातिकता त झन् मन परेको छैन। संघीयता पनि मन परेको छैन, अन्ततः गणतन्त्र पनि धेरै मन परेको छैन। जुन बयलगाडा सिद्धान्त छ, जुन हामीले सबै सुनेकै छौँ।’  छलफलमा विगतमा पनि माओवादी केन्द्रले दुई पटक संविधान संशोधनको प्रस्ताव राखेर मधेसवादी दलहरूलाई समझदारीमा ल्याएको स्मरण पनि गरे।

‘हामी संविधान परिमार्जन र संशोधनको विरोधी विलकुल होइन। पहिला दुईपटक संविधान संशोधन गर्‍यौं; समझदारीका साथ। मैले दुईपटक संशोधनको प्रस्ताव राखेको पनि थिएँ। त्यतिबेला मधेसी जनताको र मधेसी राजनीतिक दलको चाहनाअनुसार संशोधन प्रस्ताव दर्ता नगरेको भए चुनावमा मधेसी दलहरूलाई सामेल गर्न सायद सम्भव थिएन,’ उनले भने, ‘उहाँहरूलाई मेरो नेतृत्वको सरकार संविधान संशोधन गरेर भए पनि मधेसको मुद्दा, या जनताको मुद्दालाई संवोधन गर्न तयार छ भन्ने विश्वास भयो। निरन्तर संवाद, सहकार्य र संशोधन प्रस्तावका कारण निर्वाचनतर्फ देश जान सकेको हो।’

उनले देशमा अप्ठ्यारो परेका बेला सबै राजनीतिक दल राष्ट्रिय सहमतिको साथ अघि बढ्नुपर्ने र विपत्तिको सामना गर्नुपर्ने पक्षमा रहेको बताए। उनले २०७२ सालको भूकम्पपछि आम जनताको चाहनाअनुसार संविधान सभाबाट संविधान बनाउन प्रमुख राजनीतिक दलबीच सहमतिको वातावरण बनाउन सकिएको पनि स्मरण गरे।

‘यहाँहरूलाई सम्झना छ, विनाशकारी भूकम्प गएका बेलामा पनि हामीले राष्ट्रिय सहमति बनाउनेतिर र समझदारीका साथ त्यसको सामना गर्ने, आम नेपाली जनताको चाहनाअनुसार, त्यतिबेला संविधान सभाबाट संविधान बनोस् भन्ने आम नेपाली जनताको चाहना थियो। यो पीडालाई संविधान बनाउनेमा बदल्न सकियो भने जनतालाई राहत हुन्छ भन्ने मान्यता राख्थेँ,’ उनले भने, ‘त्यही मान्यताका आधारमा संसदमा हामीले अपिल पनि ग¥यौं। फलतः संविधानचाहिँ बन्यो त्यतिबेला। अब संविधानमा के चुनौती छन्, त्यो अर्को विषय भयो। जुन आज चर्चा र समीक्षा हुँदैछ।’

साथै  प्रचण्डले दक्षिण एसियामा नै विगत केही समयदेखि ठुलो राजनीतिक अस्थिरताको भुमरीमा जस्तो सरकार बन्ने र भत्किने क्रम जस्तो किसिमले देखा परेको उल्लेख गरे । उनले यसमा श्रीलंका र बंगलादेशको उदाहरण प्रस्तुत गरे ।

उनले नेपालमा चाहिँ सरकार परिवर्तन हुने विषयमा आन्तरिक कारण प्रधान रहेको स्पष्ट परो । ‘हाम्रोमा चाहिँ हाम्रै मौलिकतामा छ भन्छु म । हाम्रोमा समीकरण बन्ने र भत्किने कुरा अन्तर्राष्ट्रिय कारणले भयो भनेर भन्नु अत्युक्ति हुन्छ । यो हाम्रो आन्तरिक राजनीतिक डाइनामिक्सका कारणले भएको छ । तर, दिनप्रतिदिन अन्तर्राष्ट्रिय दबाब र चलखेल बढ्दै जाने आङ्कलन गर्न सकिन्छ ।’

प्रचण्डले विश्व परिस्थिति नयाँ ढङ्गले अघि बढेको जिकिर गरे । केहीले तेस्रो विश्वयुद्ध सुरु भइनै सक्यो भनेर प्रचार गरिरहेको र ठुलै राजनीतिज्ञहरूले तेस्रो विश्वयुद्धको संघारमा रहेको भन्न थालेको सुनाए । 

यसको असर सबैतिर परेको उनको भनाई छ । ‘हाम्रो देशको अवस्थितिको कारणले, चीन र भारतजस्ता विशाल छिमेकीको बिचमा हुनुको कारणले विगतदेखि हामीसँग चुनौती र अवसर पनि रहँदै आएका छन् । यो बिचमा चुनौती बढ्दै गएको अनुभूति गरेका छौँ । विश्वमा आर्थिक शक्ति र विश्व शक्ति बन्ने प्रतिस्पर्धामा चीन र अमेरिका सबैभन्दा अगाडि छन् । रुस पनि सुपरपावरको हैसियत गुम्न नदिनका लागि प्रयास गर्ने कुरा पनि स्वाभाविक छ ।’

देशको भूराजनीतिको मात्र कुरा नभएर हाम्रो भौगोलिक बनावटको कारणले पनि नेपाल जहिले पनि अप्ठ्यारोमा पर्ने देश रहेको उनले बताए ।

 

बुधबार २३ असोज २०८१ १२:४७ PM मा प्रकाशित

प्रतिक्रिया