×

समृद्ध नेपाल निर्माणमा बाँकी जीवन विताउने प्रधानमन्त्री दाहालको उद्घोष 

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्ध नेपाल निर्माणमा आफ्नो बाँकी जीवन बिताउने उद्घोष गरेका छन् ।  आइतबार कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले समाजवादी क्रान्तिको आधार तयार पार्न अहोरात्र भूमिका निर्वाह गरिरहेको भन्दै बाँकी जीवन यसैमा बिताउने उद्घोष गरे । 

मैले यो राजनीतिक उपलब्धि प्राप्त गरेपछि पनि सपना देख्न छोडेको छैन । मैले बारम्बार भन्ने गरेको छु, मेरो अबको बाँकी जीवन समृद्ध नेपालको निर्माण गर्दै समाजवादी क्रान्तिको आधार तयार पार्ने हो । म अहिले यही सपनाका लागि अहोरात्र भूमिका निर्वाह गरिरहेको छु । अब यो सपनामा तपाईहरुको साथ चाहिन्छ, यहाँहरुको सपना जोडिनुपर्छ ।

प्रधानमन्त्री दाहालले सुदूरपश्चिम विश्वविद्यालयको स्थापनाको काम पहिलोपटक प्रधानमन्त्री हुँदा आफैले अघि बढाएको भन्दै विविध क्षेत्रमा भइरहने परिवर्तन र विकासलाई आत्मसात गरेर अघि बढ्नु ठूलो चुनौती भएको बताए ।  यो सुदूरपश्चिम विश्वविद्यालयको स्थापनाको काम पहिलोपटक प्रधानमन्त्री हुँदा मैले नै अघि बढाएको थिएँ ।

मलाई सम्झना छ, सधै उपेक्षामा पर्दै आएको सुदूर पश्चिम क्षेत्र र यसक्षेत्रका जनताको दूरगामी भविष्यको परिकल्पना गरेर हामीले विश्वविद्यालय स्थापनाको निर्णय गरेका थियौं । विश्वका हरेक कुनामा विविध क्षेत्रमा भइरहने परिवर्तन र विकासलाई हामीले आत्मसाथ गरेर सोहीअनुरूप आफूलाई अनुकूलनतामा ढाल्नुपर्ने चुनौती हामीसामु छ ।  प्रधानमन्त्री दाहालले विश्वविद्यालयको नेतृत्वले भौतिक एवम् शैक्षिक सुधारका विस्तार गरी विश्वका अन्य प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गर्दै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा विकास गर्न आवश्यक भएको बताए । 

त्यसैले विश्वविद्यालयको नेतृत्वले भौतिक एवम् शैक्षिक सुधार, विद्यार्थी कल्याणसम्बन्धी कार्यहरूको विस्तार गरी विश्वका अन्य प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गर्दै आफूलाई एउटा उत्कृष्ट शैक्षिक संस्थाको रूपमा विकास गर्न आवश्यक छ । विश्वविद्यालयले प्राज्ञिक गुणस्तर उच्च राख्न अध्ययन अनुसन्धानको आकर्षणको केन्द्र बन्दै सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले एक आपसमा सहकार्य, सहयोग र सद्भावलाई सुदृढ बनाउँदै अघि बढ्नुपर्ने खाँचो छ । विश्वविद्यालयको स्तरोन्नति गर्न आवश्यक सहयोगका लागि नेपाल सरकार सदैव सकारात्मक रहेको छ ।

प्रधानमन्त्री दाहालले लोकतान्त्रिक मान्यताका पक्षमा दह्रो ढंगले उभिने, नवीनतम खोज, अनुसन्धान र विकासको गतिमा समाज रूपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन आवश्यक भएको भन्दै उक्त कार्यको लागि सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताए ।   

उनले आफूले अन्याय, गरिबी, शोषण, विभेदको अन्त्य र समाज परिवर्तन गर्ने सपना देखेर परिवर्तनको लामो र कठिन यात्रामा नगएको भए आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुग्न नसक्ने स्मरण पनि गराए ।  

आइतबार​ २६ चैत २०७९ ०४:५५ PM मा प्रकाशित

प्रतिक्रिया