×

इलाम विमानस्थलमा परीक्षण उडान सफल

images

नेपाल वायु सेवा निगमको ९एन–एबीटी विमान बिहान ९ बजेर ७ मिनेटमा काठमाडौंबाट उडेर १० बजेर ४ मिनेटमा अवतरण भएको हो । विमानमा प्रमुख क्याप्टेन पेम्बा शेर्पा, क्याप्टेन रक्षित मल्लसहित नागरिक उड्यान प्राधिकरणका कर्मचारी गरी ११ जना सवार थिए । विमान करिव आधा घण्टा यहाँ बसेको थियो । आयोजनाका इन्जिनियर विनायक भट्टराईले विमानस्थल विमान उडाउन योग्य भएको भए पनि अन्य संरचना बनउन बाँकी रहेको बताए ।

आउँदो फागुन ८ गतेदेखि नियमित उडान हुन लागेको विमानस्थलमा सफल परिक्षण भएको छ । यस अघि तारा एयरको विमानले कच्ची धावनमार्गमा गत २०७५ सालको जेठमा पहिलोपटक सफल परिक्षण उडान गरेको थियो । ७ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्गसहितको विमानस्थलको शिलान्यास २०६८ सालमा गरिएको थियो ।

समुन्द्र सतहबाट १ हजार १ सय ५० मिटर उचाइमा रहेको यस क्षेत्रको मौसम प्राय सफा हुने र ट्विनअटर विमानकालागि उपयुक्त भएको ठहर भएपछि यस क्षेत्रको जग्गा अधिग्रहण गरेर विमानस्थल बनाइएको हो । यो विमानस्थलले पूर्वी पहाडी जिल्ला र सीमापारी भारतको दार्जिलङ, सिक्किम लगायतका बासिन्दाका लागि सहज हुने ठानिएको छ ।

तीन महिनाको परिक्षण उडानकालागि गरिएको सम्झौता अनुसार हरेक आइतबार इलाम काठमाडौंबीच कम्तिमा एउटा उडान हुनेछ । हरेक उडानमा कम्तिमा ११ यात्रु हुन अनिवार्य छ । यदि त्यति यात्रु नभए अपुग यात्रुको भाडा नगरपालिकाले तारा एयरलाई बुझाउनु पर्नेछ । प्रति व्यक्ति ८ हजार ७ सय रुपैयाँ भाडा तोकिएको छ ।

यस विमानस्थलको निर्माणकार्य २०५८ सालमा नै थालिएको थियो । इलाम नगरपालिका–९ सुकिलुम्बामा एउटा बस्ती नै उठाएर ३ सय २८ रोपनी जमिन अधिग्रहण गरेर विमानस्थल बनाइएको हो ।

 

बुधबार २६ माघ २०७८ ०१:४७ PM मा प्रकाशित

प्रतिक्रिया