×

अस्पतालको समस्याप्रति दलको चासो

images

विराटनगर : ‘हामीबाट सुरु भएको समस्या हामी जहाँ–जहाँ जन्छौँ त्यही जान्छ, पहिला हामी सुध्रिएपछि मात्र संस्था सुध्रिन्छ’ भन्नेमा राजनीतिक दलका नेताहरूले प्रतिबद्धता जनाएका छन् ।

विराटनगरको कोसी अस्पतालको सेवा प्रवाह चुस्तदुरुस्त बनाउँदै प्रदेश नं १ कै नमूना अस्पताल बनाउन मोरङका राजनीतिक दलका नेताले सो प्रतिबद्धता जनाएका हुन् । कोसी अस्पतालको सेवामा गुनासो आएपछि संवाद समूह प्रदेश नं १ द्वारा मङ्गलबार आयोजित संवादमा अस्पतालको सेवा सुधारमा दलहरु लाग्ने प्रतिबद्धता आएको हो । 

विशेषज्ञ चिकित्सक नबस्ने, सूचना प्रणाली व्यवस्थित नहुँदा बिरामीलाई समस्या भएको र पहुँचवालाले मात्रै सेवा पाएको गुनासो आएपछि दलहरूसँग संवाद आयोजना गरिएको हो । संवादमा दलहरूले कोसी अस्पताललाई नमूना अस्पतालका रूपमा स्थापित गर्न एक हुने प्रतिबद्धता जनाएका हुन् । आगामी आर्थिक वर्षको बजेटमा अस्पताललाई प्राथमिकतामा राख्नका लागि  अस्पताल विकास समिति र अस्पताल प्रशासनको नेतृत्वमा सबै दलहरूले साझा पहल गर्ने, अस्पतालको क्षमता विस्तार गरी ५०० शय्याको बनाउन भएको ओएनएमस सर्भे पारित गराउन भूमिका खेल्ने सहभागीको भनाइ थियो । अस्पतालले ओएनएमएस सर्भे पठाइसकेकाले यो पारित भए अस्पतालमा देखिएको कर्मचारी र चिकित्सक समस्या समाधान हुने अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले बताउनुभयो ।

संवादमा अस्पतालको सही व्यवस्थापनका लागि दलहरुको तर्फबाट बेला–बेला अनुगमन र निरीक्षण गरी समस्या समाधानमा  सकारात्मक पहल गर्ने नेताहरुले बताएका छन् । प्रदेश नं १ का पूर्वसामाजिक विकासमन्त्री तथा प्रदेशसभा सदस्य जीवन घिमिरेले कोसी अस्पतालको बिग्रिएको शाख जोगाउनुपर्ने अहिलेको चुनौती रहेको बताउनुभयो ।
 
नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले नागरिकलाई दिने सेवा प्रवाहका बारेमा सूचना प्रणाली व्यवस्थित नभएको र सूचना अभावका कारण सेवाग्राही अलमलमा पर्ने अस्पतालको अवस्था छ भन्नुभयो । नेकपा ९एमाले० का सचिव रुपेश खतिवडाले अस्पतालको जनशक्तिलाई सही व्यवस्थापन गर्ने हो भने धेरै समस्या समाधान हुने धारणा राख्नुभयो । 

नेकपा ९एकीकृत समाजवादी० का केन्द्रीय सदस्य महेश रेग्मीले  नागरिकप्रति जवाफदेही नहुने चिकित्सकलाई कारबाही गर्ने हो भने सबै समस्या हल हुन्छ भन्नुभयो । जसपाका नेता राजकुमार यादवले अस्पतालले बिनाविभेद बिरामीको उपचारमा ध्यान दिनुुपर्ने धारणा राख्नुभयो । लोसपाका नेता मोहम्मद कादिरले ग्रामीण क्षेत्रबाट आउने  सर्वसाधारणलाई अस्पतालमा धेरै दुःख हुने गरेको गुनासो बारम्बार सुनिने गरेको बताउनुभयो । राप्रपाका नेता माधवराज आचार्य  र टङ्क गुरागाईँले अर्थावस्था कमजोर भएका व्यक्ति उपचारका लागि जाने गरेकाले यस्तो अवस्थामा नागरिकका गुनासा सुन्न हेल्प डेस्क राख्नुुपर्नेमा जोड दिनुभयो ।

बुधबार २६ माघ २०७८ ११:३५ AM मा प्रकाशित

प्रतिक्रिया