×

गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्दै

images

पोखरा । गण्डकी प्रदेशका नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन् । नेता  अधिकारी प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन्।

प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सरकार गठनका लागि दिएको पाँच दिनको समयसीमा आज बेलुका ४ बजे सकिँदैछ।  अधिकारीलाई माओवादी र राप्रपाका प्रदेश सांसदहरुले समेत समर्थन गरेका छन् । गण्डकीमा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसद छन् । जुन सरकार गठनका लागि बहुमत सङ्ख्या हो। प्रदेशसभाका कूल ६० सिटमध्ये नेपाली कांग्रेससँग २७ र नेकपा (एकीकृत समाजवादी)सँग एक सिट छ ।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्य मुख्यमन्त्रीमा नियुक्त हुने संवैधानिक व्यवस्था छ। सत्तारुढ दलहरुबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटको टुंगो लागेसँगै गण्डकीमा एमालेबाट अधिकारी मुख्यमन्त्री बन्ने पक्कापक्की भएको हो।

आइतबार बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले सातवटै प्रदेशको प्रमुख तीन पदको भागबण्डा टुंग्याएका थिए । त्यस अनुसार गण्डकी प्रदेशमा एमालेले ५ वर्ष मुख्यमन्त्री चलाउनेछ । सभामुख माओवादीले र उपसभामुख एमालेले लिनेछ ।

सोमबार २५ पुस २०७९ ११:४३ AM मा प्रकाशित

प्रतिक्रिया