×

नेपाल वायु सेवा निगमको काठमाडौं–भैरहवा उडानको सबै टिकट अगाडि नै बिक्री

images

काठमाडौं । दशैंका लागि फूलपातीका दिन काठमाडौंबाट भैरहवा उड्ने नेपाल वायु सेवा निगम (नेवानि) को न्यारोबडी जहाजको टिकट उडान शुरु नभई सबै बिक्री भएको छ । निगमले दशैंको यात्रु चापलाई मध्यनजर गर्दै भैरहवाका लागि पठाउन लागेको जहाजका सबै टिकट एक दिनअघि नै बिक्री भइसकेका हुन् ।

१५८ वटा यात्रुसिट क्षमता भएको जहाज प्याक भइसकेको निगमले जनाएको छ । माग उच्च भए पनि नेवानिले एउटा मात्र उडान राखेको छ । जहाज अभावले थप उडान राख्न नसकेको नेवानिका अधिकृतहरु बताउँछन् । जहाजमा एकतर्फी उडानको मूल्य ३,८९० रुपैयाँ तोकिएको छ भने ३० किलोसम्मको लगेजलाई निःशुल्क गरेको छ ।

दशैंका लागि काठमाडौं उपत्यका छाड्नेको लर्को हुनु र भारी वर्षाका कारण सडक अवरुद्ध हुनुले यो समयमा हवाई यात्रा गर्नुपर्ने सर्वसाधारणको बाध्यता रहेको छ । महँगो भाडा तिरेर पनि सर्वसाधारण जोखिम र कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । 
 

मङ्गलबार २२ असोज २०८१ ०१:५० PM मा प्रकाशित

प्रतिक्रिया