काठमाडौँ । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नख्खु कारागारबाटै जेनजीको आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेका छन् ।
आफ्नो निजि सचिवालय मार्फत एक सन्देश जारी गर्दै लामिछानेले शासकहरुले तपाईँहरुलाई विधि र विवेकको शासन पनि नदिएको उल्लेख गर्दै आफ्ना खुसी र दु:ख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसेको आरोप लगाएका छन् ।
उनले आफ्नो इतिहास र यो देशको इतिहास पनि जेनजीकै हातबाट लेखिँदै भन्दै नख्खु जेलको कालकोठरीबाट शुभेक्षा, सदभाव र ऐक्यबद्दता प्रकट गरेको बताएका छन् ।
उनले भनेका छन्-
भोलिबाट तपाईँहरु सडकमा ओर्लँदै हुनुहुन्छ । तपाईँहरुमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनुपर्छ । शासकहरुले तपाईँहरुलाइ विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दु:ख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे । सत्ता र शक्तिको नशामा चुर अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरुलाई थाहा छैन, तपाईँहरुको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ । भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हो । घुसपैठ हुनसक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन् विवेक प्रयोग गर्नुहोस् । तपाईँको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईँकै हातबाट लेखिँदैछ । नख्खु जेलको कालकोठरीबाट म तपाईँहरुप्रति शुभेक्षा, सदभाव र ऐक्यबद्दता प्रकट गर्दछु ।
प्रतिक्रिया