×

प्रधानमन्त्री बालेनको 'एक्लै लड्नुपर्छ' भन्ने स्टाटस पछि मनिष झाको जवाफ: 'हामी सबै साथमा छौँ, कोही एक्लो छैन'

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले परिवर्तनका लागि महान् जनादेश पाएको सरकारमा कोही पनि एक्लो नरहेको भन्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई आश्वस्त पारेका छन्। शुक्रबार संसद्‍मा आफ्नै दलका सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएपछि प्रधानमन्त्री शाहले मध्यरातमा सामाजिक सञ्जालमा व्यक्त गरेको भावुक अभिव्यक्तिलाई लिएर सांसद झाले शनिबार यस्तो जवाफ फर्काएका हुन् ।

झाले सामाजिक सञ्जालमार्फत सिंगो पार्टी र नागरिक सरकारको सकारात्मक कामको साथमा रहेको स्पष्ट पारेका छन्

प्रधानमन्त्रीको त्यो मध्यरातको स्टाटस

शुक्रबार प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसदहरू रमेश प्रसाईं, मनिष झा लगायतले सरकारको ढिलासुस्ती र कार्यशैलीको आलोचना गरेका थिए। त्यसलगत्तै प्रधानमन्त्री शाहले शुक्रबार मध्यरातमा फेसबुक र एक्स (ट्विटर) मा आफू एक्लै लडिरहेको आशयको स्टाटस लेखेका थिए :

"केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन ।"

मनिष झाको जवाफ: "नियतमा शङ्का छैन, सुधार मात्र खोजिएको हो"

प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएपछि सांसद झाले फेसबुक र एक्समार्फत जवाफ दिँदै संसद्‍मा उठाइएका प्रश्नहरू विरोध नभएर रचनात्मक सुधारका लागि मात्र भएको स्पष्ट पारेका छन् .।

झाले आफ्नो सन्देशमा लेखेका छन्:

कोही एक्लो छैन: "परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ ।" 

नियत सफा छ, शैली बदल्नुपर्छ: "हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन् । यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ ।" 

सरकारलाई साथ: "जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन ।"

सांसद झाले ऐतिहासिक अवसरलाई सदुपयोग गर्न र नागरिकलाई डेलिभरी दिन सरकारलाई आवश्यक सुझाव र खबरदारी गरिरहनुपर्ने आफ्नो दायित्व भएको उल्लेख गर्दै रचनात्मक काममा सरकारलाई रास्वपाको पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता दोहोर्‍याएका छन् ।


 

शनिबार २३ साउन २०८३ ०७:१२ PM मा प्रकाशित

प्रतिक्रिया