×

कर्णालीका बालबालिकामा कुपोषणको समस्या बढ्दै

images

कर्णाली प्रदेशमा बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको छ । प्रदेशका १० जिल्लामा सरकारले कुपोषण हटाउनका लागि विभिन्न कार्यक्रम गरे पनि बालबालिकाको स्वास्थ्यमा सुधार आउन सकेको छैन ।

कर्णाली स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार कर्णालीका १० जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा ६५४ अस्पतालमा कुपोषण भएर २० हजार ९२ बालबालिका भर्ना भएका थिए ।

निर्देशनालयका अनुसार आर्थिक  वर्ष २०७८/७९ मा दैलेखमा मात्रै ५ सय ७८ र सुर्खेतमा ४ सय बालबालिका कुपोषण लागेर अस्पताल भर्ना भएका थिए । मुगुमा चालु आर्थिक वर्षमा ९१ बालबालिकामा कुपोषण देखिएको छ । जाजरकोटको बारेकोटमा मासिक आठदेखि १० बालबालिकामा कुपोषण देखिने गरेको छ ।

बारेकोटमा गएको वर्ष  कुपोषणका कारण दुई जनाको ज्यान गएको बारेकोट लिम्सामा रहेकाे स्वास्थ्य संस्थाकी स्वास्थ्यकर्मी कल्पना रोकायले बताउनुभयो । कालीकोट, जाजरकोट, मुगुलगायत कर्णालीका बालबालिकामा कुपोषणबाहेक रक्तअल्पता, ख्याउटेपन र कम तौलको समस्या बढेको छ ।

कर्णालीमा १५ देखि ४९ वर्ष उमेरका ३५ प्रतिशत महिला र ४८ प्रतिशत बालबालिकामा रक्तअल्पता भएको पाइएको छ । बहुक्षेत्रीय पोषण योजनाका प्रदेश समन्वयकर्ता मानबहादुर कुँवरका अनुसार २०८७ सालसम्ममा सबै पालिकालाई पोषणमैत्री बनाउने उद्देश्य राखिएको छ ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीका ४८ प्रतिशत महिलामा रक्तअल्पताको समस्या छ । पाँच वर्षमुनिका ५५ प्रतिशत बालबालिका अधिक पोषण, न्यून पोषण, मोटोपन, पुड्केपन, ख्याउटे, कम तौल र सुकेनासजस्ता समस्याबाट ग्रसित छन् । कर्णालीमा पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिका कम तौलका छन् भने ५५ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या छ ।

६० प्रतिशत बालबालिकाले जन्मेको एक घण्टाभित्र आमाको दूध पिउन पाउँदैनन् । निर्देशनालयका अनुसार पछिल्लो नौ वर्षमा समयमै उपचार नपाउँदा कर्णालीका १ सय ६६ सुत्केरीको ज्यान गएको छ ।  

शुक्रबार​ २४ असार २०७९ ०३:२८ PM मा प्रकाशित

प्रतिक्रिया