×

भ्रष्टाचारको आरोपमा जेल कोच्ने लिष्टमा रहेकाहरु आलोचना गरिरहेका छन्– रवि लामिछाने

images

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३० वर्षसम्म शासन सत्ता चलाएर देश खोक्रो बनाउनेहरूले आफूलाई प्रश्न सोध्ने र आलोचना गर्ने अधिकार नरहेको बताएका छन् । देश लुट्नेहरूले हामीलाई प्रश्न सोध्न लाज मान्नुपर्छ, हामीलाई प्रश्न सोध्ने होइन । चितवन–२ को उपनिर्वाचनका लागि आयोजना गरिएको आँबुखैरनी सभालाई शनिवार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

नौं महिना अघि खुलेको पार्टी र ३० दिन मात्र सरकार चलाएको पार्टीलाई प्रश्न गर्ने ठाउँ नभएको पनि उनको भनाई छ । ‘हामीलाई त्यस्ता मान्छेहरुले आलोचना गरिरहेका छन्, जसलाई हामीले जेल कोच्ने भनेर लिस्ट बनाइराखेका छौं,’ लामिछानेले भने, ‘त्यसैले भ्रष्ट मानिसहरुले सोधेको जवाफ एउटा पनि दिन्न किनकि तीनलाई जेल कोच्ने हो, जवाफ दिएर हिँडने होइन ।’  

उपनिर्वाचन नजिकिँदैँ गर्दा उम्मेदवारहरुको चुनावी सभाहरु सुरु हुन थालेका छन् । ‘हामीलाई आलोचना गर्ने मान्छेहरु र ती मान्छेहरुको चरित्रलाई हेर्छौं । ती मानिसहरुको राजनीतिक इतिहासलाई हेर्छौ । ती त्यस्ता मान्छेहरु हामीलाई प्रश्न गर्छन्, जसलाई हामीले हाम्रो सरकार बन्यो भने भ्रष्टाचारको आरोपमा जेल कोच्ने भनेर लिष्ट बनाइरहेका छौं,’– उनले भने ।

साथै, भ्रष्टाचारीहरुले सोधेको कुनै पनि प्रश्नको जवाफ नदिने उनले बताए । आफू आम सर्वसाधरणले सोधेको प्रश्नको जवाफ जहाँ र जहिले पनि दिन तयार रहेको उनले बताए । भ्रष्टाचारीलाई जवाफ दिन नभएर जेल कोच्न आवश्यक रहेको उनको भनाई छ ।

‘म आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुले सोध्नु् भएको प्रश्नको जवाफ चोक, गल्ली, भट्टी जहाँ पनि दिन तयार छु । तर, भ्रष्ट मान्छेहरुले सोधेको एउटा पनि जवाफ दिन्न । किन कि तिनलाई त जेल कोच्ने हो,’– उनले भने । 

शनिबार २५ चैत २०७९ ०६:२६ PM मा प्रकाशित

प्रतिक्रिया