×

बिक्री हुँदैनन् माटाका भाँडा

images


नारायणगढ (चितवन), २१ कात्तिकः पुर्ख्याैली पेसा धान्नका लागि बजार खोज्दै विसं २०३३ मा चितवन झर्नुभएका रन्तभक्त प्रजापति अहिले सन्तुष्ट हुनुहुन्न । बाबुबाजेले गर्दै आएको माटोका भाँडा बनाउने कामलाई निरन्तरता दिन र व्यवसायलाई फराकिलो बनाउने उद्देश्यका साथ भक्तपुरको ठिमीबाट अभिभावकसहित चितवन झर्नुभएका उहाँ अहिले माटोका भाँडा बिक्री हुन छाडेपछि उत्पादनको काम छाडेर पसल सञ्चालन सुरु गर्नुभएको छ । 

भरतपुर महानगरपालिका–९ निवासी प्रजापतिको भरतपुर १२ थानि चोकमा माटाको भाँडाको सानो पसल  छ । पसल सानो भए पनि दैनिक आवश्यकपर्ने माटाका भाँडा सबै उहाँको पसलामा पाइने गरेको छ ।

    सुरुवातको समयमा आँफैले माटाको भाँडा बनाएर बिक्री गर्दै आउनुभएका उहाँ उत्पादित सामग्रीमा मेहनत बढी र आम्दानी कम हुने भएपछि सामान खरिद गरेर बिक्री गर्न थालेको बताउनुहुन्छ । 

“पहिले–पहिले मैले उत्पादन गरेर जुन पसलमा सामान बिक्री गर्दथे अहिले त्यही पसलबाट सामान खरिद गरेर ल्याउने गरेको छु”, उहाँ भन्नुहुन्छ, “तिहारको समयमा कुनै वर्ष ४० हजार वटासम्म पाला बेच्ने गरेको थिएँ । अहिले दुई हजार वटा पनि बिक्री गर्न पनि समस्या छ ।” 

बजारमा उपलब्ध प्लास्टिक तथा अन्य सामग्रीका सामानका कारण माटोका भाँडा विस्थापित भएको उहाँको बुझाइ छ । उहाँले भन्नुभयो, “यो पेसा सङ्कटमा पर्ने देखिएको छ । कसैले पनि गर्न खोज्दैनन्, युवामा आकर्षण छैन । दुःख बढी र आम्दानी कम भएपछि कस्ले गर्ने यस्तो काम ?” 

चितवनमा आफूसँगै एक÷दुई जनाले मात्रै माटोको भाँडा बनाउने गरेको भन्दै उहाँले त्यो पनि चाडपर्वलाई लक्षित गरेर मात्रै बनाउने गरेको बताउनुभयो । 

यस पेशामा दुःख बढी र कमाइ कम हुने हुँदा आकर्षण बढ्न नसकेको उहाँको बुझाइ छ । उहाँले भन्नुभयो “पहिलेको तुलनामा अहिले ८० प्रतिशत बिक्रीमा कमी आएको छ”, भरतपुर महानगरपालिका–१ नारायणगढमा पूजा सामग्री सञ्चालन गर्दै आउनुभएका नारायण काफ्ले भन्नुभयो, “आवश्यक परेको खण्डमा मात्रै माटोका भाँडा लैजाने ग्राहक भेटिन्छ ।” विशेष गरी तिहारको अवसरमा माटोको पालाको मात्रै खोजी हुने गरेको भए पनि पहिलेको तुलनामा माग घट्दै गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिला माटोको दियोमा बत्ती बाल्ने प्रचलन भए पनि मैनबत्ती तथा पाला जस्तै देखिने बिजुली बत्तीले यसलाई विस्थापित गर्दा माटाका सामग्री बिक्रीमा कमी आएको हो ।”
 
नारायणगढमा माटोका सामग्रीको थोकमा व्यवसाय गर्दै आउनुभएका ‘सुवेदी माटोको भाँडा पसल’का सञ्चालक नारायणप्रसाद सुवेदी विगतको वर्षमा जस्तो माटोको भाँडाको व्यापार हुन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “व्यापार त छ  तर अघिल्ला वर्षको तुलनामा कम छ ।” चितवनमा माटाका सामग्री उत्पादन नहुँने हुँदा भक्तपुरलगायतका क्षेत्रबाट ल्याएर यहाँ बिक्री गर्नेे गरेको उहाँले बताउनुभयो ।
---

मङ्गलबार २१ कात्तिक २०८० ०४:०९ PM मा प्रकाशित

प्रतिक्रिया