×

तालिबानको नियमले भुकम्पमा अफगानी महिलाको आपत: ३६ घण्टापछि पनि भएन उद्धार !

images

काठमाडौँ । गत आइतबार अफगानिस्तानको पूर्वी पहाडी क्षेत्रहरूमा आएको ६ म्याग्निच्युडको भूकम्पले विनाश मच्चायो । सरकारी तथ्याङ्कका अनुसार अहिलेसम्म २२ सयभन्दा बढीको मृत्यु भएको छ भने ३६ सयभन्दा बढी घाइते भएका छन् । राहत संस्थाहरूले यस विपत्तिको सबैभन्दा ठूलो भार महिला र बालबालिकामाथि परेको बताएका छन्, जो उद्धारको क्रममा पछाडि परेका थिए ।

पुरुष उद्धारकर्मीहरू भग्नावशेषमा फसेका महिलाहरूलाई हटाउन हिचकिचाइरहेपछि उनीहरु समस्यामा परेको रिपोर्टमा उल्लेख गरिएको छ । महिलाहरू हराइरहेका जस्तो देखिन्थ्यो भने पुरुष र बालबालिकाहरूको उपचार भइरहेको थियो, तर महिलाहरू कुनामा चुपचाप बसिरहेको दृश्य कहाली लाग्दो थियो ।

तालिबानको कडा नियम अन्तर्गत, परिवार नभएका पुरुषहरूले महिलाहरूलाई छुन सक्दैनन् । फलस्वरूप, महिलाहरू धेरै घण्टासम्म भग्नावशेषमा फसेकै अवस्थामा रहनु पर्यो, जबसम्म छिमेकी गाउँका महिलाहरूले आएर उनीहरूलाई बाहिर निकालेनन् ।

कुनार प्रान्तकी १९ वर्षीया बीबी आयशा भन्छिन्, उद्धार टोली ३६ घण्टापछि उनको गाउँमा पुग्यो, तर त्यसमा एक जना पनि महिला समावेश थिएनन् । उनीहरूको अगाडि पुरुष र बालबालिकालाई मात्र बाहिर लगेर उपचार गराइन्थ्यो ।

तालिबानले ४ वर्षअघि सत्ता सम्हालेपछि महिला स्वतन्त्रतामा प्रतिबन्ध लगाएको छ । छैटौं कक्षा पछि केटीहरूको शिक्षा रोकिएको छ, महिलाहरू पुरुष आफन्त बिना लामो दूरीको यात्रा गर्न सक्दैनन् र धेरैजसो जागिरबाट वञ्चित छन्। गैरसरकारी संस्थाहरू र संयुक्त राष्ट्र संघमा काम गर्ने महिलाहरूले पनि बारम्बार धम्की पाएका छन्।

गत वर्ष, तालिबानले महिलाहरूलाई चिकित्सा शिक्षामा प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो, जसका कारण महिला डाक्टर र नर्सहरूको ठूलो अभाव छ । यही कारणले गर्दा प्रभावित क्षेत्रहरूमा चार दिन बित्दा पनि महिला स्वास्थ्यकर्मीहरू धेरै ठाउँमा पुग्न सकेनन् ।

अस्पतालहरूमा प्रायः पुरुष डाक्टर र नर्सहरू उपस्थित थिए । बीबी आयशा भन्छिन्, 'भगवानले मलाई र मेरो छोरालाई बचाउनुभयो। तर त्यो रात पछि मैले यहाँ महिला हुनुको अर्थ के हो भनेर बुझें । सधैं अन्तिममा देखिनुपर्छ ।

अफगानिस्तानको तालिबान सरकारको सांस्कृतिक र धार्मिक मान्यता अनुसार, महिलाका नजिकका पुरुष आफन्तहरू, जसमा उनका बुबा, भाइ, पति वा छोरा समावेश छन्, मात्र उनलाई छुन अनुमति छ । त्यस्तै महिलाहरूलाई आफ्नो परिवार बाहिरका पुरुषहरूलाई छुन अनुमति छैन । प्रकोप क्षेत्रहरूमा, महिला उद्धारकर्मीहरूलाई पुरुषहरूलाई सहयोग गर्न निषेध गरिएको छ । तर महिलाले मात्र भग्नावशेष मुनिबाट महिलालाई निकाल्न अनुमति दिइएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्प २ लाख जनसंख्या भएको जलालाबाद शहरबाट लगभग १७ माइल टाढा रहेको नान्गारहार प्रान्तमा गएको थियो । जहाँ धेरै गाउँहरू भग्नावशेषमा परिणत भएका थिए । यो क्षेत्र राजधानी काबुलबाट १५० किलोमिटर टाढा छ र यो पहाडी क्षेत्र हो ।

आइतबार​ २२ भदौ २०८२ ०७:५५ PM मा प्रकाशित

प्रतिक्रिया