लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानले मुलुकभर व्यापक उत्साह र आशा जगाइरहेको बताएका छन् ।
माओवादी केन्द्रका उपाध्यक्षहरू, महासचिवलगायतको उच्चस्तरीय टोलीसहित प्रचण्ड शनिबार लम्जुङको राइनास नगरपालिका आइपुग्दा स्थानीयवासीले बाजागाजा र परम्परागत लाखे नाचसहित भव्य स्वागत गरेका थिए ।
प्रचण्डले सम्बोधन गर्दै अभियान वर्षाका कारण केही समय स्थगित भएको भए पनि अपेक्षाभन्दा बढी उत्साहप्रद जनसहभागिताले पार्टीप्रति मात्र नभई जनतामाझ पनि नयाँ उर्जा थपिएको बताए । उनले विगतमा हुलाकी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग अभियानका क्रममा समेत जनतासँग प्रत्यक्ष संवाद गर्दै सहिद परिवारको घरमै बसेर उनीहरूको पीडा र अनुभव सुन्ने अभ्यास कायम राखिएको उल्लेख गरे ।
उनले भने- 'हामी हाम्रो वर्ग, हाम्रो विचार र जनतासँग टुटेको कडीलाई पुनः जोड्न आएका हौं ।'
उनका अनुसार, अभियानका क्रममा कांग्रेस वा एमालेका स्थानीय जनप्रतिनिधिहरूले समेत स्वागत र सहयोग गर्ने परम्परा देखिएको छ। उनले भने- 'ठूला नेताप्रति मनपर्ने–नपर्ने जे भए पनि जनप्रतिनिधिहरूले माओवादी नेतृत्वलाई देशको समस्या समाधान गर्न सक्ने शक्ति भनेर स्वीकार गरेका छन्। यही कारण यो अभियान अब सिंगो राष्ट्रकै अभियान बनेको छ ।'
राइनासमा सम्पन्न कार्यक्रममा ठूलो संख्यामा स्थानीयवासीको उपस्थिति रहेको थियो भने अभियानका सहभागीहरूले यसलाई जनतासँग प्रत्यक्ष सम्पर्क, संवाद र सहानुभूतिको महाअभियानका रूपमा व्याख्या गरेका छन्।
प्रतिक्रिया