काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सकिएको छ । शुक्रबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा सुरु भएको दोस्रो विधान महाधिवेशन विभिन्न दस्तावेज पारित गर्दै समाप्त भएको छ । यस विधान महाधिवेशनले तीन प्रमुख दस्तावेज अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन सर्वसम्मत पारित गरेको हो । त्यस्तै महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराको प्रतिवेदन प्रस्तुत गरिएको एमाले प्रचार बिभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । विधान महाधिवेशनको पहिलो दिन शुक्रबार उद्घाटन समारोहपछि सबै दस्तावेज प्रस्तुत गरिएको थियो भने शनिबार १० समुहमा दस्तावेजहरुमाथि छलफल भएको थियो र अन्तिम दिन आज दस्ताबेज सर्वसम्मतले पारित गरेको गौतमले जानकारी दिएका छन् । त्यस्तै विधान महाधिवेशनले २९ वटा विभिन्न प्रस्ताव पारित गरेको गौतमले बताए । त्यस्तै डा. विजय सुब्बा अध्यक्ष रहेको २५ सदस्य रहेको केन्द्रीय निर्वाचन आयोगको निर्वाचन सर्वसम्मत रुपमा सम्पन्न गरेको छ ।
२- प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताले कानुनी राज्यको पालना गर्ने कुरामा विश्वास व्यक्त गरेका छन् । एमालेको विधान महाधिवेशनको समापन समारोहमा बोल्दै ओलीले जेनजी पुस्ताले देशलाई माया गर्ने र कसैको उक्साहटमा नलाग्ने उल्लेख गर्दै कानुनी राजुको पालना गर्नेमा विश्वास व्यक्त गरेको एमाले प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । समारोहमा ओलीले भने- जेनजी पुस्ता देश भक्त छ, देशलाई माया गर्छ, कानुनी राज्यको पक्षमा उभिन्छ र कुनैपनि हालतमा कसैको उक्साहटमा नलागेर कानुनी राज्यको पालना गर्न मद्दत गर्छ भन्ने मेरो विश्वास छ ।' त्यस्तै ओलीले सामाजिक सञ्जाल बन्द गर्न चाहेर बन्द नगरेको बताउदै उनीहरुलाई करको दायरमा ल्याउने, नियमन गर्न र नेपालको कानुन बमोजिम प्रक्रियामा ल्याउन खोजेको महाधिवेशनमा स्पष्ट गरेको गौतमले बताए । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि जेनजी पुस्ताको आव्हानमा सोमबार काठमाडौँको माइतीघरसहित देशभर प्रदर्शन हुन लागेको छ ।
३- जेनजी पुस्ताको सोमबार हुने प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । आम नेपाली युवा- भ्रष्टाचार तथा बेथितिविरुद्ध राष्ट्रिय अभियानले जिल्ला प्रशासन कार्यालयले सोमबारको प्रदर्शनको अनुमति दिएको जानकारी दिएको छ ।अभियानले सोमबार बिहान ११ बजे, काठमाडौंको माइतीघर मण्डलासहित देशभरि एकैसाथ 'भ्रष्टाचारलगायत देशमा व्याप्त सम्पूर्ण बेथिति विरुद्ध' राष्ट्रिय स्तरको कार्यक्रम आयोजना हुँदैछ । यस कार्यक्रममार्फत जात, धर्म, वर्ग, पार्टीभन्दा माथि उठी राष्ट्रिय एकताका आधारमा भ्रष्टाचार र बेथिति विरुद्धको आवाज बुलन्द गरिने अभियानले जानकारी दिएको छ । अभियानले यो भ्रष्टाचारविरुद्धको संघर्ष केवल युवाहरूको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा अभियान भएको जनाएको छ । एकता, सत्य र न्याय नै नयाँ नेपालको मार्गदर्शक सिद्धान्त हुन् भन्दै यस ऐतिहासिक अभियानमा सम्पूर्ण युवाहरू तथा आम नागरिकहरूको सक्रिय उपस्थितिका लागि हार्दिक अपील गरेको छ । साथै अभियानले कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित र सभ्य ढंगले सम्पन्न गर्ने अठोट रहेको बताएको छ ।
४- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानले मुलुकभर व्यापक उत्साह र आशा जगाइरहेको बताएका छन् । माओवादी केन्द्रका उपाध्यक्षहरू, महासचिवलगायतको उच्चस्तरीय टोलीसहित प्रचण्ड शनिबार लम्जुङको राइनास नगरपालिका आइपुग्दा स्थानीयवासीले बाजागाजा र परम्परागत लाखे नाचसहित भव्य स्वागत गरेका थिए । प्रचण्डले सम्बोधन गर्दै अभियान वर्षाका कारण केही समय स्थगित भएको भए पनि अपेक्षाभन्दा बढी उत्साहप्रद जनसहभागिताले पार्टीप्रति मात्र नभई जनतामाझ पनि नयाँ उर्जा थपिएको बताए । उनले विगतमा हुलाकी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग अभियानका क्रममा समेत जनतासँग प्रत्यक्ष संवाद गर्दै सहिद परिवारको घरमै बसेर उनीहरूको पीडा र अनुभव सुन्ने अभ्यास कायम राखिएको उल्लेख गरे । उनले भने- 'हामी हाम्रो वर्ग, हाम्रो विचार र जनतासँग टुटेको कडीलाई पुनः जोड्न आएका हौं ।'
५- अभिनेता अनमोल केसीले सोमबार हुने जेनजी पुस्ताको आन्दोलनलाई समर्थन गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै अनमोलले सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्ने बताएका छन् । अनमोलले नेपाली नागरिकहरू चुप लागेर नबस्ने बताउदै हाम्रो अधिकारलाई कसैले रोक्न नसक्ने बताएका हुन् । उनले भनेका छन्- सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्छौं । हाम्रो अधिकार कोही रोक्न सक्दैन । हाम्रो आवाज दबिँदैन । यस अघि अभिनेता पल शाहले पनि सोमबार हुने आन्दोलनप्रति आफ्नो समर्थन व्यक्त गरेका थिए ।
६- अभिनेता पल शाहले सोमबार हुने जेनजी पुस्ताको आन्दोलनप्रति समर्थन जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अभिनेता शाहले देश दिन प्रतिदिन बढ्दो भ्रष्टाचारले समृद्धि मात्र हैन, आम जनताको भरोसा र आशा समेत समाप्त पारिरहेको उल्लेख गर्दै जेनजीद्वारा आयोजना गरिएको आन्दोलन शान्तिपूर्ण विरोध प्रदर्शन हुनुपर्ने र कुनै नागरिकलाई पनि चोट पटक नलागोस्, नागरिकका कुरा सुनियोस् भन्ने अपेक्षा गरेको उल्लेख गरेका छन् । अभिनेता शाहले अहिले अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयहरूले स्थिति झन गम्भीर बनाएको उल्लेख गर्दै आफुले सबै नेपाली खुशी र सुरक्षित जीवन जिउन सकून् भन्ने चाहेको बताएका छन् ।
७- सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल व्यवस्थित गर्ने सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले आम नागरिकले प्रयोग गर्ने कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्महरुलाई निषेध, नियन्त्रण वा संकुचित गर्ने नभई स्वनियमनको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही रुपमा प्रयोग गर्ने वातावरण निर्माण गर्न नेपाल सरकारले लिएको यस सम्बन्धी निर्णय कार्यान्वयनमा सहयोग पुयाउन मन्त्रालय आम नागरिक तथा सम्बद्ध सबैमा अपिल गरेको हो । साथै मन्त्रालयले असुरक्षित, अनाधिकृत, जोखिमयुक्त भिपीएन प्रयोग नगर्न आग्रह गरेको छ । सरकार नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता, सूचना तथा सञ्चारको हकको सम्मान गर्ने बताउदै नागरिकले आफ्ना विचारहरु व्यक्त गर्न र सामाजिक सम्वाद गर्न प्रयोग गर्ने कुनै पनि माध्यमलाई संकुचित हुन नदिई त्यसलाई अझ फराकिलो, मर्यादित र जवाफदेही बनाउन काम गरिरहेको स्पष्ट गरेको छ । विज्ञप्तिमा मन्त्रालयले नेपालमा सञ्चालित सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र जवाफदेही बनाउन सरकारले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सूचीकरण हुन पटक पटक आह्वान गरेको उल्लेख सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को भदौ ९ गतेको निर्णय अनुसार अहिले सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणदेखि पुनः सक्रिय गराउने प्रक्रिया शुरु भएको जानकारी गराएको छ । मन्त्रालयले निष्क्रिय गराएपछि हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भइसकेको र एक्स र विच्याटले आवश्यक जानकारी मागेको जानकारी दिदै सूचीकरण हुनासाथ पुन सक्रिय हुने बताएको छ ।
८- काठमाडौँ स्पाइकर्सले पोखरामा जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत मधेश युनाइटेडलाई पराजति गरेको छ । आइतबार सम्पन्न पहिलो खेलमा काठमाडौँले मधेश युनाइटेडलाई ३-१ को सेटले पराजित गरेको थियो । पहिलो सेट २६-२४ ले जितेको काठमाडौँ मधेशसँग दोस्रो सेटमा २५-२३ ले पराजित भएको थियो । त्यसपछि काठमाडौँले खेलमा कमब्याक गर्दै २५-२२ र २५-१९ ले लगातार दुई सेटमा जित निकालेर ३-१ ले विजयी भएको थियो । यस अघि पहिलो खेलमा हार बेहोरेको काठमाडौँको यो पहिलो जित हो । काठमाडौँ स्पाइकर्स पहिलो खेलमा ललितपुर क्विन्ससँग पराजित भएको थियो । त्यस्तै मधेश युनाइटेडको भने तेस्रो खेलमा यो दोस्रो हार हो । त्यस्तै आज सम्पन्न दोस्रो खेलमा लुम्बिनी लाभाजले पोखरा निन्जाजलाई पराजित गरेको छ । प्रतिष्पर्धात्मक खेलमा लुम्बिनीले पोखरालाई ३-२ को सेटमा पराजित गरेको हो । लुम्बिनीले पहिलो सेट २५-१३ ले जितेको थियो भने दोस्रो सेट पोखराले २५-२३ ले र तेस्रो सेट २५-१० ले जितेको थियो । त्यसपछि लुम्बिनीले खेलमा कमब्याक गर्दै चौथो सेट २८-२६ ले र पाँचौं सेट १५-१० ले जितेको थियो । यो जितपछि लुम्बिनीले २ अंक हासिल गरेको छ भने पोखराले एक अंक पाएको छ । यो लुम्बिनीको दोस्रो खेलमा पहिलो जित हो । त्यस्तै पोखराले भने लगातार तेस्रो हार बेहोरेको छ ।
९- काठमाडौँ महानगरका मेयर बालेन शाहले सोमबार हुने जेनजीको प्रदर्शनलाई समर्थन गरेका छन् । बालेनले सामाजिक सञ्जालमा लेख्दै आफु उमेर हदबन्दीका कारण आन्दोलनमा जान नमिल्ने भन्दै उनीहरुको कुरा बुझ्नुपर्ने र आफ्नो पुरा समर्थन रहने बताएका हुन् । साथै बालेनले स्वतफुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद , अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्न चेतावनी पनि दिएका छन् । उनले भनेका छन्- भोलीको र्याली स्पष्ट स्वस्फूर्तरुपमा जेन जी को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जस्को लागि म पनि अझै बुढो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ । भोलि यो स्वतफुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ । प्रिय जेन जी भन्नुस् तपाईँहरुले कस्तो देश देख्न चाहनु हुन्छ ?
१०- आज नेप्सेमा गिरावट आएको छ । आज आइतबार नेप्से ११.५२ अंकले घटेर २७०८.२५ विन्दुमा पुगेर रोकिएको छ । आज ३३४ कम्पनिका एक करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ मा कारोबार भएको थियो । आज फाइनान्स, उत्पादन तथा पोसेसिङ र म्युचुअल फन्ड बाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ । आज सबै भन्दा बढी हिमस्टार उर्जाको शेयर ९.९७ प्रतिशतले बढेको छ भने आज पन्चकन्या माई हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ४.६२ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २९ करोड ९९ लाख बराबरको कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २७ करोड ४६ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
११- शनिबार बिहान ललितपुरको हरिसिद्धी–गोदावरी सडकमा गाडीको ठक्करबाट घाइते बालिकाको परिवार र कोशीका प्रदेशका मन्त्रीबीच समझदारी भएको छ । मन्त्रीका गाडी चालक चन्द्रनारायण चौधरी शनिबार आफैँ प्रहरीमा उपस्थित भएका थिए त्यसलगत्तै ग्वार्कोस्थित बीएण्डबी अस्पताल पुगेर कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले ११ वर्षीया घाइते बालिकालाई भेटेका थिए । मन्त्री रानाले बालिकाको सम्पूर्ण उपचार खर्च र औषधिको बिल तिरेर थप २५ हजार रूपैयाँ क्षतिपूर्ति दिएका थिए । जिल्ला प्रहरी ललितपुरमा आफै हाजिर भएका ड्राइभर चौधरीलाई प्रहरीले शनिबार बेलुकी नै घर फर्किन अनुमति दिएको थियो । मन्त्री रानाले थप उपचार गर्नुपर्ने भएमा बालिकाको उपचार खर्च बेहोर्ने प्रतिबद्धता गरेपछि घाइते बालिकाका परिवार र मन्त्रीपक्षबीच शनिबार बेलुकी नै मिलापत्र भएको थियो । मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएर भागेको घटनाको सिसिटिभी बाहिरिएको थियो । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि बालिकालाई ठक्कर दिएर भागेर मन्त्रीले अमानवीय व्यबहार गरेको भन्दै चर्को आलोचना भएको थियो ।
१२- रुसले युक्रेनको कीभस्थित क्याबिनेट भवनमा आक्रमण गरेको छ । युक्रेनकी प्रधानमन्त्री युलिया स्व्यारीडेन्कोले रुसको आक्रमणमा क्याबिनेट भवनमा क्षति पुगेको जानकारी दिएकी हुन् । यो भवन पहिलो पटक प्रहार भएको हो । युक्रेनको वायु सेनाले पछिल्लो रात्रि आक्रमणमा रुसले ८०० भन्दा बढी रेकर्ड संख्यामा ड्रोन र मिसाइलहरू प्रहार गरेको बताएको छ । वायु सेनाका अनुसार, नौ मिसाइल र ५६ ड्रोनले ३७ स्थानमा प्रहार गरिएको थियो । प्रधानमन्त्री युलियाले क्याबिनेट भवनको छत र माथिल्लो तलाहरू क्षतिग्रस्त भएको छ । उनले भनेकी छन्- 'शत्रुले हरेक दिन देशभरका हाम्रा मानिसहरूलाई आतंकित गरिरहेका छन् ।' आइतबार बिहान क्याबिनेट भवनबाट आकाशमा धुवाँको ठूलो मुस्लो देखिएको थियो ।
१३- जापानी प्रधानमन्त्री इशिबा शिगेरुले राजीनामा दिएका छन् । आइतबार पत्रकार सम्मेलन गरेर इशिवाले राजीनामा घोषणा गरेको जापानी मिडिया एनएचकेले उल्लेख गरेको छ । इशिबाले शनिबार पूर्व प्रधानमन्त्री सुगा योशिहिदे र कृषिमन्त्री कोइजुमी शिन्जिरोलाई भेटेपछि राजीनामाको निर्णयमा पुगेको बताइएको छ । दुवैले पदभन्दा पार्टी भित्र एकता महत्वपूर्ण भएको भन्दै उनलाई राजीनामा गर्न सुझाव दिएको बताइएको छ । आफ्नो सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी भित्रको भ्रमलाई नियन्त्रण गर्ने प्रयास गर्न उनले यो निर्णय गरेको विश्वास गरिन्छ। इशिबाले गत अक्टोबरमा पदभार ग्रहण गरे र मुद्रास्फीतिलाई सम्बोधन गर्ने र पार्टीलाई सुधार गर्ने वाचा गरेका थिए । उनको गठबन्धन सरकारले जुलाईमा भएको माथिल्लो सदन (हाउस अफ काउन्सिलर) को चुनाव हारेको थियो । इशिबाले हालै यसको लागि माफी मागेका छन् र राजीनामा दिने निर्णय गर्ने बताएका छन् । इशिबाको नेतृत्वमा रहेको एलडिपी-कोमेइटो गठबन्धनले जुलाई २०२५ मा भएको चुनावमा लज्जास्पद हार बेहोर्नुपरेको थियो । गठबन्धनले ५० सिटको लक्ष्य राखेको थियो, तर ४७ सिट मात्र जित्न सकेको थियो, जसका कारण उनको सरकारले दुवै सदनमा बहुमत गुमाएको थियो । यो जापानी राजनीतिमा ऐतिहासिक धक्का थियो ।
१४- नेपाली कांग्रेसले कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्न नहुने निष्कर्ष निकालेको छ । आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको पोजिसन बुझेर सर्वोच्चको आदेश अनुसार कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्न नहुने निष्कर्ष निकालेको हो । बैठकमा सरकारको पोजिसन बुझेर यस विषयमा थप निर्णय लिने गरि छलफल भएको कांग्रेस नेताहरुले बताएका छन् । सरकारले बिहीबारबाट नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपनि कांग्रेसले अहिलेसम्म औपचारिक धारणा सार्बजनिक गरेको छैन । कांग्रेसका महामन्त्री गगन थापाले तत्काल आफ्नो धारणा सार्बजनिक गर्दै सरकार उल्टो बाटो हिडेको आरोप लगाएका थिए । सरकारले सर्वोच्च अदालतको परमादेशको हवाला दिदै दर्ता नभएका २६ सामाजिक बन्द गरेपछि चौतर्फी आलोचना भइरहेको छ ।
१५- नेपाली बजारमा आज सुनको मुल्य बढ्नेक्रम जारी रहेको छ । आइतबार सुन तोलामा १६ सयले बढेर नयाँ किर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको १६ सयले बढेर तोलाको २ लाख १२ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख १० हजार ४ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २४९० मा कारोबार भएको थियो ।
१६- बेलायतमा 'प्यालेस्टाइन एक्सन' नामक समूहमाथिको प्रतिबन्धको विरोधमा भएको विरोध प्रदर्शनका क्रममा ४२५ भन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन् । सयौं मानिसहरूले प्रतिबन्धको विरोध गर्न मध्य लन्डनको संसद स्क्वायरमा भेला भएका थिए । धेरै प्रदर्शनकारीहरूले 'म नरसंहारको विरोध गर्छु, म प्यालेस्टाइन एक्सनलाई समर्थन गर्छु' लेखिएका प्लेकार्डहरू बोकेका थिए । महानगरीय प्रहरीले पक्राउ परेकाहरूमध्ये धेरैजसो प्रतिबन्धित संगठनका समर्थकहरू रहेको बताएको छ । प्रहरी अधिकारीहरूमाथि आक्रमण गर्ने र सार्वजनिक व्यवस्था खलल पार्ने अपराध अन्तर्गत २५ भन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरिएको छ । सरकारले आतंकवाद ऐन अन्तर्गत जुलाईमा प्यालेस्टाइन एक्सनमाथि प्रतिबन्ध लगाएको थियो । यस कानून अन्तर्गत, संगठनमा सामेल हुनु वा समर्थन गर्नु अपराध हो, जसलाई १४ वर्षसम्मको जेल सजाय हुन सक्छ । 'प्यालेस्टाइन एक्सन' एक अभियान समूह हो । यसका प्रवक्ताहरू मध्ये एकले पहिले प्रतिबन्धको बारेमा भनेका थिए- 'प्रतिबन्ध विरुद्धको विरोध द्रुत गतिमा बढिरहेको छ ।' उनले विरोध प्रदर्शनले प्यालेस्टाइन एक्सनमाथिको प्रतिबन्ध 'लागू गर्न असम्भव र स्रोतसाधनको बर्बादी' भएको देखाएको बताएको बिबिसीले उल्लेख गरेको छ ।
१७- नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले जेन्जी र अल्फा पुस्ता आएमा कसैले रोक्न नसक्ने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले जेन्जी र अल्फा पुस्ता आईसक्यो तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काइरहेको उल्लेख गर्दै हाहु मा हैन क्षितिज पारीसम्म नियालेर ऊ आयो भने कसैले रोक्न नसक्ने बताएका हुन् । उनले भनेका छन्- जेन्जि र अल्फा पुस्ता आईसक्यो तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काउदैछ।हाहु मा हैन क्षितिज पारी सम्म नियालेर ऊ आयो भने कसैले रोक्न सक्दैन।मौसम त दुई महिनामा हल्का रङग फेर्छ, राजनीतिमा छेपारे र चेपारे प्रवृतिसँग किन गुनासो ? हरेक दशकले त्यो चटक भोग्दै त आएको छ ।
१८- अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-१७ च्याम्पियनसिप खेल्ने पुरुष फुटबल टिमको घोषणा गरको छ । मुख्य प्रशिक्षक सञ्जित सिंहले सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिप खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका हुन् । नेपाली टिममा गोलकिपर पेम्बा नोर्बु भोटे, राम बोहर र विशेष बानिया रहेका छन् भने डिफेन्डरमा प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य राना मगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का रहेका छन् । त्यस्तै मिडफिल्डरमा प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्टा भण्डारी, प्रतिश थापा मगर, भूपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तान रहेका छन् भने फरवार्डमा समीर कुमार, डिआईजी विजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहेका छन् । साफ यू–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् । नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ । त्यस्तै समुह बी मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् । नेपालले पहिलो खेल सेप्टेम्बर १५ मा श्रीलंकासँग र सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ । समुह चरणका खेलपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।
१९- पोर्चुगलले विश्वकप छनौटमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले अर्मेनियालाई ५-० गोल अन्तरले पराजित गरेको छ । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले २-२ गोल गरे भने एक गोल जोआओ क्यान्सेलोले गरेका थिए । यो जितपछि युरोप छनौटको समुह एफ मा रहेको पोर्चुगलले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । विश्वकप छनौट अन्तर्गत पोर्चुगलले अब अर्को खेल सेप्टेम्बर १० मा हंगेरीविरुद्ध खेल्ने तालिका रहेको छ ।
२०- आज खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । ग्रहण राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने र राति ११: ५६ मा चन्द्रग्रहणको मध्य हुने भने राति १: ४१ बजे ग्रहण सकिने समितिले जनाएको छ । काठमाडौँबाट करिब साढे तीन घण्टा चन्द्रग्रहण देखिने छ । २०८२ सालको यो पहिलो ग्रहण हो । आउँदो फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ । शास्तीय मान्यता अनुसार ग्रहण लग्नु ९ घण्टा अगाडी सुतक लाग्ने भएकाले बाल, वृद्ध, आतुर, दीर्घरोगी बाहेक अरुलाई भोजन र शयन निषेध गरेको छ । चन्द्र ग्रहणको मेष, बृष, कन्या र धनु राशि भएकाहरुलाई शुभ र मिथुन, कर्कट, सिह, तुला, बृश्चिक, मकर, कुम्भ र मिन राशि भएका ब्यक्तिलाई अशुभ हुने मानिएको छ । यो चन्द्र ग्रहण यस वर्षको दोस्रो हो तर नेपालबाट देख्न सकिने चन्द्र ग्रहणका रूपमा यस वर्षको यो पहिलो चन्द्र ग्रहण हो । नेपाल सहित युरोपको उत्तरपूर्वि भाग, एसियाका सम्पूर्ण देशहरू, अस्ट्रेलिया, उत्तरी अमेरिका लगायत एटलान्टीक र प्यासिफिक किनारका धेरै देशहरूबाट यो चन्द्र ग्रहण देखिने बताइएको छ । यो एउटा चन्द्रमाको सामान्य बृत चक्र हो जहाँ सूर्य र चन्द्रको बिचमा पृथ्वी पर्न जान्छ । यस समयमा पृथ्वी, चन्द्र र सूर्यबिचको दूरी सबैभन्दा थोरै हुन्छ । यस क्रममा पृथ्वीको छाया चन्द्रमा देखिन्छ, चन्द्र नै प्रकाशको अभावमा र पृथ्वीको छायाले कालो देखिन्छ र यो नै चन्द्र ग्रहण हो ।
प्रतिक्रिया