×

वि. सं २०८० सालको वार्षिक राशिफल

images

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशिको लागि वि. सं २०८० साल मध्यम रहेको छ। शनि ग्रहको गोचर तपाईंको राशिबाट एघारौँ स्थानमा रहने भएकाले आयआर्जन बढ्न सक्छ। फलामबाट, भूमिबाट तथा पति वा पत्नीबाट लाभ हुन सक्छ। बृहस्पतिको गोचर तपाईकै राशिमा रहने भएकाले मानसम्मानको हानी, रोजगार वा व्यवसायमा बिघ्नबाधा, राज्यबाट भय, यात्रामा कष्ट, स्वास्थ्य कमजोर रहने तथा खर्च बढ्न सक्ने, अध्ययन अध्यापन तथा धार्मिक क्षेत्र मन नलाग्ने रहेकाले बृहस्पति ग्रहको जप, पाठ आदि गर्दा राम्रो हुन्छ। राहु र केतुको गोचरफल सामान्य नै रहन्छ। असार, असोज, माघ, फागुन महिनामा सूर्यको गोचरको शुभ प्रभावले कार्यसिद्धि, आम्दानीमा वृद्धि तथा शत्रुलाई पराजय गर्न सक्ने समय रहेको छ।

 

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशिको लागि वि. सं २०८० साल सामान्य रहेको छ। बृहस्पतिको ग्रहको गोचर बाह्रौँ स्थानमा रहनाले र शनि ग्रहको गोचर दशौँ स्थानमा रहने भएकाले खर्च बढ्ने, अनावश्यक विवादमा उल्झनु पर्ने, आर्थिक लेनदेनमा विवाद हुने, स्वास्थ्य अवस्था कमजोर रहने, गरेको कामको उचित जस नमिल्ने रहेकाले ग्रहहरुको अशुभ प्रभाव कम गर्नको लागि जप, पाठ गर्दा राम्रो रहला। वर्षको उत्तरार्द्ध अर्थात् कार्तिकबाट राहु ग्रहको एकादश गोचरको शुभ प्रभावले नयाँ कार्यको थालनी हुनेछ । वृत्तिविकासका अवसरहरू मिल्नेछन् । व्यापार र पशुव्यवसायबाट राम्रो कमाई हुनेछ । वैदेशिक क्षेत्रका काम बन्नुका साथै आम्दानी समेत हुनेछ। नोकरीमा थुप्रै अपजस खप्नु परे पनि सामाजिक क्षेत्रको कामबाट मानसम्मान मिल्नेछ । परिवारमा बढोत्तरी हुनेछ । पठनपाठन सम्बन्धी काम अधुरो रहनेछ । वर्षको उत्तरार्द्धबाट नयाँ नयाँ कामको थालनी हुनेछ । आर्थिक दृष्टिले साउन, कार्तिक, फागुन र चैत महिना शुभ रहेका छन् ।

 

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशिको लागि वि. सं २०८० साल शुभ समय रहेको छ । वर्षभरि गोचरमा एकादश वृहस्पति रहने र राहुको गोचर पनि शुभ रहने भएकाले आर्थिक क्षेत्र राम्रो उन्नतिको योग रहेको छ । आयआर्जनका नयाँ  श्रोतहरु फेला पर्नेछन्।  कामको खोजीमा रहेकाहरुले काम प्राप्त गर्न सक्छन् भने व्यवसायमा लागेकाहरुले व्यवसायलाई विस्तार गर्न सक्ने र राम्रो नाफा आर्जन गर्न सक्ने समय रहेको छ। वैदेशिक क्षेत्रबाट राम्रो लाभ हुनेछ । परिवारमा माङ्गलिक कार्य हुनेछ। केतुको गोचरको प्रभावले वर्षको पूर्वार्धमा सन्तानबाट कष्ट तथा शैक्षिक क्षेत्रमा रोकावट हुन सक्छ भने उत्तरार्द्धमा रोग तथा शत्रुबाट भय हुन सक्ने, चोटपटक लाग्न सक्ने योग रहेको छ । शनि अशुभ फलदायी हुनाले यस वर्ष धार्मिक काममा रुचि घट्ने र पापकर्ममा मन बढ्नेछ । सञ्चित धनको नाश हुन सक्छ। सूर्यको गोचरको शुभ प्रभावले वैशाख, भदौ, मङ्सिर र चैत महिनामा आर्थिक तथा सामाजिक प्रगति हुन सक्छ ।

 

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशिको लागि वि. सं २०८० साल सामान्य वर्ष रहेको छ । गोचर अनुसार दशम वृहस्पति र राहु, अष्टम शनि तथा चतुर्थ केतु रहेकाले र अढैया शनिको प्रभाव समेत रहेकाले पारिवारिक समस्या, शत्रुबाट पीडा, सञ्चितिमा बाधा, झुट्टा आरोप, शरीरमा आलस्यता, मानसिक तनावजस्ता अशुभ फल प्राप्त हुने भएकाले उक्त ग्रहहरूको दान, जप, पाठ आदि शान्तिकर्म गर्दा राम्रो हुन्छ । वर्षको उत्तरार्द्धबाट आम्दानी बढ्ने, शत्रुमाथि विजय प्राप्त हुने आदि शुभ फल प्राप्त हुनेछ । अध्ययन-अध्यापन कार्य सफल रहनेछ । वैदेशिक क्षेत्रका काम बन्नुका साथै व्यापार व्यवसायबाट मध्यम लाभ हुनेछ । नोकरीमा मानसम्मान मिल्नेछ । आर्थिक दृष्टिले वैशाख, जेठ, असोज र पुस महिना शुभ रहेका छन् ।

 

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशिको लागि वि. सं २०८० साल शुभ समय रहेको छ । वर्षभरि बृहस्पति ग्रहको गोचर नवम रहने र केतु ग्रहको गोचर असोजसम्म तेश्रो स्थानमा शुभ फलदायी रहनाले कार्य सिद्धि हुनेछ। आर्थिक र भौतिक सुख चौतर्फबाट मिल्नेछ । भूमिको लाभ हुन सक्छ। धार्मिक तीर्थस्थलहरूको भ्रमण हुनेछ । नोकरी तथा सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । राहुको नवम र अष्टम गोचर तथा शनिको सप्तम गोचरका कारण पारिवारिक समस्या हुने, पापकर्ममा आशक्ति बढ्ने, वैवाहिक जीवनमा विश्वासको सङ्कट देखा पर्न सक्ने हुँदा उक्त ग्रहहरूको दोष निवारणका लागि जप, पुजा पाठ गर्दा राम्रो हुन्छ। व्यापार व्यवसाय सामान्य रहेको छ । पशुपालन व्यवसाय, जग्गाजमीन सम्बन्धी कारोबार गर्नेले बढी मुनाफा पाउनेछन् । नोकरीबाट मानसम्मानसहित सन्तोष प्राप्त हुनेछ । वर्षको उत्तरार्द्धबाट स्वास्थ्यसम्बन्धी जटिल समस्याले सताउने आफन्तले विश्वासघात गर्ने अवस्था रहेको छ । आर्थिक दृष्टिले जेठ, असार, कार्तिक र माघ महिना शुभ रहेका छन् ।

 

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशिको लागि वि. सं २०८० साल मध्यम समय रहेको छ । वर्षभरि शनि ग्रहको गोचर षष्ठ स्थानमा शुभ रहनाले शत्रुहरु पराजित हुनेछन्। स्वास्थ्य राम्रो रहन सक्छ भने  धन लाभ हुनेछ । बृहस्पति ग्रहको अष्टम गोचर, राहुको अष्टम तथा सप्तम गोचर र केतुको दोश्रो र पहिलो गोचरको फल प्रतिकूल रहनाले स्वास्थ्यसम्बन्धी समस्याले सताउने, दुष्कर्ममा मन बढ्ने, शत्रु बढ्ने, धन नाशका साथै पीडासमेत खप्नु पर्ने हुन सक्छ । तसर्थ उक्त ग्रहहरूको अशुभ फलबाट बच्न ग्रहशान्ति कर्महरू गर्नु उपयुक्त देखिन्छ । वर्षको उत्तरार्द्धमा राहुको सप्तम गोचर तथा केतुको प्रथम स्थानको गोचरका कारण पारिवारिक समस्या तथा आर्थिक सङ्कटको सामना गर्नुपर्ने हुन सक्छ । पशुपालन र कृषि व्यवसायबाट राम्रो आर्जन गर्न सकिनेछ। वैदेशिक क्षेत्रका कामहरू धेरै प्रयासबाट मात्र सफल हुन सक्छन्। पठनपाठन उचित ध्यान दिन नसक्दा शैक्षिक क्षेत्र भने यस वर्ष अधुरो नै रहने सम्भावना बढेको छ । नोकरीबाट अपजस प्राप्त हुन सक्छ । आर्थिक दृष्टिले असार, साउन, मङ्सिर र फागुन महिना शुभ रहेका छन् ।

 

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशिको लागि वि. सं २०८० साल शुभ समय रहेको छ । बृहस्पति र राहु ग्रहको सप्तम गोचर अनुकूल रहनाले आर्थिक वृद्धि, सुख, मानसम्मान प्राप्त हुने योग रहेको छ । यस वर्ष आँटेका कामहरू पूरा गर्न सकिनेछ। विवाह गर्न चाहनेहरुको यो वर्ष विवाह हुन सक्छ भने वैवाहिक जीवनबाट सन्तोष मिल्न सक्छ। साझेदारी काम गर्नेहरुको राम्रो लाभ प्राप्त गर्न सक्छन्। आम्दानीका नयाँ नयाँ श्रोतहरू फेला पर्नेछन् । शनिको पाँचौं गोचर र केतुको प्रथम गोचर अशुभ फलदायी रहनाले शत्रु बढ्ने, डरत्रासको स्थिति देखापर्ने, अनावश्यक खर्च बढ्ने र सन्तानबाट पीडा समेत हुने देखिन्छ । वर्षको उत्तरार्द्धमा आफन्तसँगको वियोग सहनु परेपनि अप्रत्याशित धन लाभ हुनेछ । व्यापार व्यवसाय र पशुपालन व्यवसाय फष्टाउनेछ । परिवारमा माङ्गलिक कार्यका साथै कुटुम्ब वृद्धिसमेत हुनेछ । आलस्यता बढ्नाले पठनपाठन कार्य कमजोर रहनेछ । सन्तान सुख मिल्नेछ । आर्थिक दृष्टिले साउन, भदौ, पुस र चैत महिना शुभ रहेका छन् ।

 

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

वृश्चिक राशिको लागि वि. सं २०८० साल सामान्य रहेको छ । वर्षको पूर्वार्धमा राहु ग्रहको षष्ठ स्थानमा गोचर हुने भएकाले यश, कीर्ति बढ्ने र अर्थलाभ हुने देखिन्छ । तर बृहस्पति ग्रहको षष्ठ र शनि ग्रहको चतुर्थ अशुभ फलदायी रहनाले आफन्तसँगको सम्बन्ध टुट्ने, हानी नोक्सानी बढ्ने, शत्रुवृद्धि हुने, डरत्रासको अवस्थाले मनमा अशान्त हुने देखिन्छ । अत उक्त ग्रहहरूको पूजा, दान, जप आदि शान्तिकर्म गरेमा शुभफल प्राप्त हुनेछ । वर्षको उत्तरार्द्धमा केतु ग्रहको शुभ एकादश स्थानको गोचरले अप्रत्याशित धनलाभ र नयाँ कामको थालनी हुनेछ । पशुव्यवसायबाट नोक्सानी खप्नु पर्नेछ । अन्य व्यापार व्यवसायबाट मध्यम लाभ हुनेछ । विदेशसँग सम्बन्धित काम अधुरो रहनेछ । नोकरीमा थुप्रै अपजस खप्नु पर्ने र स्थानान्तरण हुने भएपनि मानवृद्धि हुनेछ । अध्ययन-अध्यापन कार्य मध्यम रहेको छ । वर्षको मध्यभागमा माया मारेको धन हात लाग्नेछ । आर्थिक दृष्टिले वैशाख, भदौ, असोज र माघ महिना शुभ रहेका छन् ।

 

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिको लागि वि. सं २०८० साल शुभ समय रहेको छ । बृहस्पतिको ग्रहको पञ्चम गोचर र शनि ग्रहको तृतीय गोचरको शुभ फल तपाईंलाई प्राप्त हुने भएकाले अधुरो रहेका कामहरू पूरा हुनुका साथै नयाँ नयाँ कामको थालनी हुनेछ । पठनपाठनमा सफलता र आम्दानी बढ्नेछ । साझेदारी कामबाट लाभ हुनेछ । पुख्यौली सम्पत्तिसम्बन्धी समस्याहरू समाधान हुनेछन् । परिवारमा माङ्गलिक कार्य हुनेछ । धार्मिक तीर्थस्थलहरूको भ्रमण हुनेछ । वर्षको उत्तरार्द्धबाट स्वास्थ्यसम्बन्धी समस्याबाट मुक्ति मिल्नेछ । व्यापार व्यवसायबाट मध्यम लाभ भए पनि वैदेशिक क्षेत्रबाट सन्तोषजनक लाभ हुनेछ । वर्षको मध्यभागमा लेनदेनका कारण आफन्तसम्म मनमुटाव हुनेछ । नोकरीमा स्थानान्तरणका साथै जिम्मेवारी बढ्नेछ । आर्थिक दृष्टिले जेठ, असोज, कात्तिक र फागुन महिना शुभ रहेका छन् ।

 

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशिको लागि वि. सं २०८० साल मध्यम समय रहेको छ । बृहस्पति ग्रहको चतुर्थ गोचर र शनि ग्रहको द्वितीय गोचरको फल प्रतिकूल रहेकाले झुट्टा आरोप लाग्ने, धनको नोक्सानी हुने, शत्रु बढ्ने, मानसिक तनाव बढ्ने, स्वास्थ्यमा बाधा र सञ्चित धनको समेत क्षति हुने भएकाले जन्म कुण्डलीमा शनि अशुभ रहेका व्यक्तिहरूले गुरु र शनिको शान्ति गर्नुपर्ने देखिन्छ । खर्चका बाटा प्रशस्त हुनाले ठूलै आम्दानीले पनि खर्च धान्न धौधौ पर्नेछ । शुभकर्महरूमा मन लाग्नेछैन । कार्तिकबाट राहुको गोचर तृतीय स्थानमा शुभ फलदायी रहनाले शरीर स्वस्थ रहने र सोचे अनुरूप नै धनलाभ हुनेछ । जग्गाजमिन सम्बन्धी कारोबार गर्ने र पशुपालन गर्ने व्यक्तिले राम्रो नाफा कमाउने छन् । | नोकरी मध्यम फलदायी रहेको छ । वैदेशिक क्षेत्रका काम बन्नुका साथै आर्थिक लाभसमेत हुनेछ । पठनपाठनमा रुचि बढ्नेछ । आर्थिक दृष्टिले. असार, कात्तिक, मङ्सिर र चैत महिना शुभ रहेका छन् ।

 

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिको लागि वि. सं २०८० साल सामान्य समय रहेको छ । बृहस्पतिको तेश्रो राशिको गोचर र शनि ग्रहको प्रथम गोचरको अशुभ फल तपाईंलाई मिल्न सक्छ। मध्य साढेसातीको प्रभाव पनि यो वर्ष तपाईंको राशिलाई रहेको छ। यस वर्ष धननाश, शत्रुवृद्धि, मानसिक तनाव, स्वास्थ्यसम्बन्धी समस्या, डरत्रासले चिन्ता, आर्थिक सङ्कट र गर्न खोजेका कामहरू अधुरै रहने र बिग्रने देखिन्छ । आलस्य बढ्नाले पठनपाठनमा जाँगर चल्दैन । अतः शुभ फल प्राप्तिका लागि उक्त ग्रहहरूको जप, दानादि शान्तिकर्म गर्नु अत्यावश्यक देखिन्छ । सामाजिक काममा धेरै समय बित्नेछ । नोकरी र वैदेशिक क्षेत्रको काममा लागेका व्यक्तिले तनावका बाबजुद प्रशस्तै लाभ लिन सक्नेछन् । पशुपालन र जग्गाजमिन सम्बन्धी कारोबारबाट मध्यम लाभ मिल्नेछ । वर्षको उत्तरार्द्धमा परिवारमा माङ्गलिक कार्य हुने र सन्तान सुख मिल्नेछ । आर्थिक दृष्टिले | वैशाख, साउन, मङ्सिर र पुस महिना शुभ रहेका छन् ।

 

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशिको लागि वि. सं २०८० साल मध्यम समय रहेको छ । वृहस्पति अनुकूल रहनाले आम्दानी बढ्नेछ । आम्दानीका नयाँनयाँ बाटाहरू बन्नेछन् । कुटुम्ब वृद्धिका साथै हरेक काममा साथीभाइ र आफन्तको सहयोग मिल्नेछ ।  नोकरी र वैदेशिक क्षेत्रबाट राम्रै लाभ हुनेछ। अध्ययन-अध्यापन कार्य सफल रहनेछ। नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । राहु, केतु र शनि गोचरमा अशुभ रहनाले सञ्चित धनको नाश, आफन्तमा वैरभाव, शत्रुबाट पीडा र विभिन्न झमेलामा फस्नु पर्ने भएकाले उक्त अशुभ फलबाट बच्न ग्रहशान्ति कर्म गर्नुपर्ने देखिन्छ । वर्षको उत्तरार्द्धमा साझेदारी काममा बाधा पर्नेछ । पवित्र तीर्थस्थलहरूको भ्रमण हुनेछ । आर्थिक दृष्टिले जेठ, भदौ, पुस र माघ महिना शुभ रहेका छन् ।

सोमबार २२ साउन २०८० ०९:०१ PM मा प्रकाशित

प्रतिक्रिया