×

प्रतिनिधिसभा बैठक अवरोधप्रति रास्वपाको असन्तुष्टि

images

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले पटकपटक संसद् अवरोध भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । पछिल्लो समय प्रतिनिधिसभाको बैठक अवरोध हुँदा जनताका मुद्दाप्रति शीर्षनेताहरु जिम्मेवार नदेखिएको उहाँहरुको आरोप छ । 

आज पनि बैठक बस्न नसकेपछि रास्वपाका सांसदहरुले संसद् दलीय भागबन्डाको बन्धक भएको आरोपसमेत लगाउनुभयो । पार्टी सभापति एवं रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले सदन गतिरोधप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोख्नुभएको छ ।  

 “कैयौँ कानुन बनाउनुपर्नेछ, कैयौँ कानुनमा संशोधन गर्नुपर्नेछ । जनसरोकारका कैयौँ मुद्दामा छलफल र निर्णय गर्नुछ । तर संसद् चल्दैन, बार्गेनिङ चल्छ”, उहाँले सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ । 

रास्वपाको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले मुख्य तीन दलका कारण संसद् अवरुद्ध हुँदै आएको भन्दै आपत्ति जनाउनुभयो । “संसद्मा महत्त्वपूर्ण विधेयकमाथिको छलफल हुन सकेको छैन, जनताको मुद्दामाथि बहस भइरहेको छैन”, उहाँले भन्नुभयो, “सत्तापक्ष र प्रतिपक्षका नाममा तीन पार्टीले सदनलाई बन्धक बनाउने कामको रास्वपाले विरोध गर्छ ।”

रास्वपाका उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले जनताको मुद्दामा सत्तापक्ष र प्रतिपक्ष गैरजिम्मेवार भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । “संसद् अवरुद्ध गरेर प्रतिपक्ष र सत्तापक्ष आफैँ मिल्ने भेट्ने गरिरहनुभएको छ, सामाजिक सञ्जालमा फोटो आउँछन्”, उहाँले भन्नुभयो, “सदन सञ्चालनको खर्च, सांसदको समय र जनताको मुद्दामा उहाँहरु जिम्मेवार हुनुभएन ।”

आज बैठक बस्न नसकेपछि प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजेका लागि तय भएको छ । सङ्घीय संसद्को महासचिव डा भरतराज गौतमले बैठक विशेष कारणले उक्त समयमा बस्न नसकेको बताउनुभयो । सुन तस्करी प्रकरणको विषयमा अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउने मागमा अडान लिएको प्रतिपक्ष नेकपा (एमाले) सदन अवरोध गर्दै आएको छ ।  

सोमबार २२ साउन २०८० ०८:२७ PM मा प्रकाशित

प्रतिक्रिया