×

कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, सुनुवार र जवेगु बने मन्त्री

images

काठमाडौं । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।  मुख्यमन्त्री सहित चार जनाले शपथ गर्ने तयारी गरेको थियो तर, माओवादीले मन्त्री नपठाएपछि मुख्यमन्त्री सहित ३ जनाले शपथ लिएका छन् ।

नेपाली काङ्ग्रेसबाट प्रदीपकुमार सुनार र एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगु मन्त्री भएका छन् । नेकपा (माओवादी केन्द्र) बाट जीवन आचार्यलाई पनि मन्त्री बनाउने तयारी भएको भएपनि माओवादीबाट कोही उपस्थित भएनन् । 

आचार्य प्रचण्डका ज्वाइँसमेत हुन् । तर, माओवादी कोशी प्रदेश कमिटीले आचार्यभन्दा सिनियर भन्दै दुर्गाप्रसाद चापागाईँलाई मन्त्री बनाउने भनेपछि जीवनको शपथ रोकिएको स्रोतले बतायो । यसअघि हिक्मत कार्की नेतृत्वको सरकारमा चापागाईँ र आचार्य दुवै मन्त्री भएका थिए । उनीहरू मध्येबाटै मन्त्री बनाउने पार्टीभित्र सहमति भए पनि पहिला आचार्यलाई मन्त्री बनाउन खोजिएपछि आन्तरिक विवाद बढेको बताइएको छ ।

थापा बिहीबार कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्रप्त नगरेपछि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको थियो ।

शुक्रबार​ २२ असार २०८० ११:०५ AM मा प्रकाशित

प्रतिक्रिया