×

दोस्रो विश्वयुद्धपछि कुनै पनि समयको तुलनामा लोकतन्त्र ‘धेरै जोखिममा’ छ– बाइडेन

images

दोस्रो विश्वयुद्धको डि–डे अवतरणको अवसरमा बिहीबार आयोजित समारोहमा अमेरिकी राष्ट्रपति जो बाइडेनले पछिल्लो आठ दशकमा कुनै पनि समयको तुलनामा अहिले लोकतन्त्र धेरै जोखिममा रहेको बताउनुभएको छ । 

    “दोस्रो विश्वयुद्धको समाप्तिपछि कुनै पनि समयको तुलनामा विश्वभरमा लोकतन्त्र धेरै खतरामा रहेको समयमा हामी बाँचिरहेका छौँ”, फ्रान्सेली सहर कोलेभिल–सुर–मेरमा उहाँले भन्नुभयो, “पृथकतावाद ८० वर्षअघि जवाफ थिएन र अहिले पनि यसको जवाफ छैन ।”

    सन् १९४४ जुनमा नर्मन्डी समुद्री तटहरूमा लड्ने अमेरिका र अन्य मित्र देशहरूका सैनिकहरूलाई श्रद्धाञ्जलि दिँदै बाइडेनले ‘बलियो गठबन्धन’ महत्त्वपूर्ण थियो भन्नुभयो । 

    “मित्र राष्ट्रहरूले ८० वर्षअघि मिलेर जे गरे त्यो हामीले आफैँले गर्नसक्ने भन्दा धेरै थियो”, बाइडेनले भन्नुभयो, “कसरी गठबन्धन– वास्तविक गठबन्धनले हामीलाई बलियो बनाउँछ भन्ने एउटा सशक्त दृष्टान्त थियो, यो एउटा यस्तो पाठ हो जसलाई हामी अमेरिकीहरूले कहिल्यै भुल्नुहुँदैन भनेर म प्रार्थना गर्दछु ।”

    राष्ट्रपति बाइडेनले दुई वर्षभन्दा धेरै समयदेखि आक्रमणकारी रुसी सेनासँग लडिरहेको युक्रेनलाई अमेरिकाले एक्लै नछाड्ने बताउनुभयो । “हामी टाढा जाने छैनौँ किनकि हामीले यस्तो गर्यौँ भने युक्रेन अधीनमा हुनेछ र यो त्यहाँ समाप्त हुनेछैन”, उहाँले भन्नुभयो । 

    “युक्रेनको छिमेकीहरूलाई धम्की दिइनेछ र सम्पूर्ण युरोपलाई धम्की दिइनेछ” भन्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बाइडेनले ‘आधिपत्यका लागि झुकेको तानाशाह’ भन्नुभयो । 

    उहाँले ‘संसारको इतिहासमा सबैभन्दा महान सैन्य गठबन्धन’ का रूपमा नाटोको प्रशंसा गर्नुभयो । बाइडेनले पुटिनलाई परोक्ष सन्देशमा भन्नुभयो, “नाटो पहिलाभन्दा धेरै एकजुट छ र शान्ति कायम राख्न अझै बढी तयार छ ।”

शुक्रबार​ २४ जेठ २०८१ १०:५२ AM मा प्रकाशित

प्रतिक्रिया