×

फाेहर 'डम्पिङ साइट' मा फाल्ने हाेइन, बिजुली र ग्यास उत्पादन गर्न सकिन्छ - प्रधानमन्त्री देउवा

images

काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले फोहरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने बताउनुभएको छ । आज बिहीवार विश्व स्वास्थ्य दिवसको अवसरका काठमाण्डाैमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहरबाट बिजुली र ग्यास उत्पादन गरेर फोहर व्यवस्थापन गर्नुपर्नेमा जाेड दिनुभएकाे हो । उहाँले काठमाण्डाैमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त आवश्यक भइसकेको पनि बताउनु भयो । 

प्रधानमन्त्री देउवाले धरानमा फोहरबाट बिजुली र ग्यास उत्पादन गरी टेम्पो लगायतका साना सवारी साधन सञ्चालन गरिएको भन्दै काठमाण्डाैकाे फोहरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘म केही दिनअघि धरान गएको थिएँ । त्यहाँ ट्रिटमेन्ट प्लान्ट राखेर फोहर व्यवस्थापन गरेर ग्यास निकालिएकाे रहेछ । त्यसले टेम्पो जस्ता साना सवारी साधन चलाउने व्यवस्थापन गरेको देखेँ । सुन्दर सहर काठमाण्डाै अहिले जताततै फोहरको थुप्रो भएको छ । यो हामी नेपालीको लागि बेइज्जत र लाजमर्दो कुरा हो । काठमाण्डाैलाई सफा र हरियाे बनाउन जरुरी छ । के–के सहयोग चाहिन्छ सरकार तयार छ ।’

प्रधानमन्त्री देउवाले फोहरलाई डम्पिङ साइटमा फाल्ने नभइ बिजुली र ग्यास निकालेर यसको उपयोग गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले फोहरबाट बिजुली र ग्यास निकाल्ने काम गर्न नेपाल आफैँले सक्ने पनि बताउनुभयो ।

प्रधानमन्त्री देउवाले बालबालिकालाई लगाइने खोप अभियानमा टाइफाइट समावेश गरेसँगै नेपाल दक्षिण एसियामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने पहिलो देश बनेको बताउनुभयो । 

बिहीबार २४ चैत २०७८ ०४:२९ PM मा प्रकाशित

प्रतिक्रिया