लुम्बिनी, २५ चैत : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गर्नुभएको छ । मुख्यमन्त्री नियुक्त भएर आज प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहणपश्चात् मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै उहाँले भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना ६० दिनभित्र तयार गरी कार्यान्वयन गर्न कार्यदल गठन गर्नुभएको हो ।
मुख्यमन्त्री कार्यालयका सचिव निराजन घिमिरेको संयोजकत्वमा भ्रष्टाचार निवारण र सुशासनका क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि एवं विज्ञ सदस्य रहेको कार्यदल गठन गरिएको हो ।
कार्यदलले दुई महिनाभित्र कार्ययोजनासहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने छ । यस्तै पदभार ग्रहण गर्दै नव नियुक्त मुख्यमन्त्री महराले प्रदेशको समग्र विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधान गर्ने, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा नागरिकको सहज पहुँच बढाउने जिम्मेवारी सरकारले लिने बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रदेश तहबाट प्रभावकारी काम गर्ने मुख्यमन्त्री महराले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लुम्बिनी प्रदेशको पाँचौँ मुख्यमन्त्रीका रुपमा नियुक्त हुनुभएका महरासँगै अन्य तीन जना मन्त्रीले पनि आजै शपथग्रहण गर्नुभएको छ । नवनियुक्त मन्त्रीको जिम्मेवारी चाँडै तोकिने र एक महिनाभित्र सरकारलाई पूर्णता दिनेगरी आफूले पहल लिएको मुख्यमन्त्री महराले जानकारी दिनुभयो ।
प्रतिक्रिया