×

प्रधानमन्त्रीद्वारा टाइफाइड विरुद्धको खोप अभियानको उद्घाटन

images

काठमाण्डाै । भोलिदेखि सुरु हुने टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियानको तयारी पूरा भएको छ । खोप अभियानको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ ।

विश्व स्वास्थ्य दिवसका अवसरमा काठमाण्डौको दरबार हाइस्कुलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गर्नु भएको हो।

आज उद्घाटन भएको राष्ट्रिय खोप अभियान भोलिदेखि देशभर सुरु हुनेछ । आउँदो वैशाख १८ गतेसम्म चल्ने अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइनेछ । यो उमेर समूहका झन्डै ७५ लाख बालबालिकालाई खोप दिने सरकारको लक्ष्य रहेको छ।

सरकारीस्तरबाट दक्षिण पूर्वी एसियामा नै पहिलो पटक नेपालमा यो खोप दिन लागिएको हो । टाइफाइड विरुद्धको खोपलाई सरकारले नियमित खोप कार्यक्रममा नै समेट्दै छ ।

राष्ट्रिय खोप अभियान अन्तर्गत भोलिदेखि वैशाख १८ गतेसम्म १५ महिनादेखि १५ वर्ष मुनिकालाई खोप लगाइने छ भने त्यसपछि नियमित खोप कार्यक्रम अन्तर्गत १५ महिना पुगेका बालबालिकालाई खोप दिइने परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर विवेकलाल कर्णले जानकारी दिनुभयो ।

उहाँकाअनुसार १५ महिनादेखि १५ वर्ष समूहमा टाइफाइडको जोखिम उच्च हुने भएकाले अभियानमा यो समूहलाई समेट्न लागिएको हो । यो खोप पूर्णरुपमा सुरक्षित रहेकाले खोप अभियानमा नछुट्न पनि सरकारले आग्रह गरेको छ ।

राष्ट्रिय अभियानका रुपमा भोलिदेखि सुरु हुने भए पनि केही जिल्लामा भने टाइफाइड विरुद्धको खोप लगाउन सुरु भइसकेको छ । 

बिहीबार २४ चैत २०७८ १२:१४ PM मा प्रकाशित

प्रतिक्रिया