×

‘देशभित्र केही गर्नेलाई ‘स्टार्टअप’ले सहयोग गर्छ’

images

काठमाडौँ, १९ असोज : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले विदेशजाने क्रम चलिरहेको बेला नेपालमा केही गर्छु भन्नेहरूका लागि ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२३’ थप सहयोगी हुने बताउनुभएको छ ।

आईसीटी फाउन्डेसनले काठमाडौँमा आज आयोजना गरेको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२३’को उद्घाटन कार्यक्रममा उहाँले लगानीकर्ता र नवप्रवर्तन क्षेत्रमा केही गर्न चाहनेका लागि यो मेला महत्त्वपूर्ण हुने बताउनुभयो ।

“स्टार्टअप योजनाको सदैव प्रगती होस् । स्वदेशमै केही गरौँ भन्नेलाई ऊर्जा र उत्साह थप्न स्टलको अवलोकनपछि आफ्नो प्रतिक्रियासमेत दिनुहोला”, उहाँले भन्नुभयो ।

सबै प्रदशर्नी कक्ष अवलोकन गरेर राम्रो नवप्रवर्तनको योजनालाई ‘आईसीटी अवार्ड’का लागि  भोट गर्न पूर्वमन्त्री गणेश साहले अनुरोध गर्नुभयो । “सबैले आफ्नो क्षमता देखाउने ठाउँ पाउनुभएको छ । स्टार्टअप सुरु गरेर बिचमै नछोड्नुहोला”, उहाँले भन्नुभयो, “स्टार्टअपको सहयोगको लागि सरकार, बैंक वित्तीय क्षेत्र सबैले आफ्नो ठाउँबाट सहजीकरण गरिदिनुहोला ।”

आईसीटी फाउन्डेसन नेपालका प्रबन्ध निर्देशक राजन लम्सालले स्वदेशमै केही गरौँ भन्ने भावना भएका युवालाई लक्षित गरी प्रोत्साहनको लागि आइसीटी अवार्डको आयोजना गरिएको बताउनुभयो । सन् २०१६ बाट सुरु भएको उक्त अवार्ड कार्यक्रम हाल आठौँ संकरणमा पुगेको छ ।

सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका स्टार्टअप कम्पनीले यो अवार्डको लागि आफ्नो मनोनयन दर्ता गर्न सक्ने छन् । डिसेम्बर २२ मा अन्तिम नतिजा हुने उक्त अवार्डमा २० कम्पनीको सहभागिता रहेको छ । कार्यक्रममा ८० वटा प्रदर्शनी कक्ष  राखिएको उक्त मेला शनिवारसम्म चल्नेछ ।

शुक्रबार​ १९ असोज २०८० ०९:१३ PM मा प्रकाशित

प्रतिक्रिया