×

मस्तिष्क मृत्यु भएका व्यक्ति एक जनाको मृत्युले खुल्छ आठ जनाको जीवनको ढोका

images

मकवानपुर । मानव जीवनको अन्त्यपछि परम्पराअनुसार जलाइन्छ वा जमिनमा गाडिन्छ । यसरी जीवनको अन्त्यसँगै जोडिएका हुन्छन् अन्य आठ जनाको जीवन बचाउन सकिने सम्भावना । जीवन दानलाई महादान मानिन्छ, आफ्नो जीवनको अन्त्य हुँदै गर्दा अन्य आठ जनालाई बचाउन सक्ने विकल्प मानिससँग हुन्छ तर यस्तो कुरा हेक्का गरिन्न ।

स्वास्थ्य विज्ञका अनुसार मस्तिष्क मृत्यु भएका व्यक्तिको अन्य अंग दान गरेर अरूआठ जनाको जीवन बचाउन सकिन्छ । नेपालमा वार्षिक १ हजार जनाको ब्रेनडेथ हुने गरेको अनुमानित तथ्यांक रहेको राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ बताउँछन् । केन्द्रका नेफ्रोलोजिस्ट डा. सुरेश महर्जनका अनुसार नेपालमा ब्रेन डेथ भएका व्यक्तिको अंग प्रयोग गर्न सके हजारौंलाई पुनर्जीवन दिन सकिन्छ ।

वार्षिक आठ हजार जना मिर्गौला र कलेजो प्रत्यारोपण गर्न सकिने अवस्था रहेको श्रेष्ठको भनाइ छ । तर, जनचेतनाको कमीका कारण खेर जाने आठ हजार अंगको उपयोग गर्न नसकिएको उनको भनाइ छ । उनका अनुसार हालसम्म नेपालमा जम्मा पाँच जना ब्रेनडेथ भएका व्यक्तिको अंग उपयोग भएको छ । अंगदानबारे नबुझेकै कारण ब्रेनडेथ भएका व्यक्तिको अंगदानको सवाल निकै जटिल र चुनौतीपूर्ण बनेको स्वास्थ्यकर्मीको भनाइ छ ।

हालसम्म केन्द्रमा १ हजार ७८ जनाको मिर्गौैला प्रत्यारोपण भएको र सबै प्रत्यारोपण शतप्रतिशत सफल भएको डा. श्रेष्ठले बताए । सरकारले मिर्गौैला प्रत्यारोपण र डाइलाइसिस दुवै सेवा निःशुल्क दिँदै आएको छ । राजधानी दैनिकबाट

बिहीबार २१ असार २०८० ०७:०१ AM मा प्रकाशित

प्रतिक्रिया