×

उद्याेगमा लाेडशेडिङ भएकाे छैन, अलि ‘राजनीति’ भयाे - कुलमान घिसिङ

images

काठमाण्डाै । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले औद्याेगिक क्षेत्रका उद्योगी व्यवसायीहरूले भनेजस्तो उद्याेगहरूमा १४ घण्टा लोडशेडिङ नभएको बताउनुभएकाे छ । आज बुधवार ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयमा आयाेजित कार्यक्रममा उहाँले तत्कालीन समयमा भारतबाट बिजुली खरिद गर्न समस्या आएकाले कहीँ कतै बिजुली कटौती भएको बाहेक उद्योगहरूमा लोडशेडिङ नगरिएको दाबी गर्नुभयो । 

निर्देशक घिसिङले प्राधिकरणले कुनै पनि उद्योगमा लोडशेडिङ नगरेको बरु केही समस्या भए दुई दिनमा नै समाधान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले उद्याेगहरूमा प्राधिकरणले लोडशेडिङ गर्‍याे भन्ने विषयहरू पनि आयो । यो तत्कालीन अवस्थाको समस्या थियो तर लामो समयको समस्या जस्तो गरेर कुरा बाहिर आयो । अलि राजनीति कुरा भयाे । बेलुकाको समयमा कुनै उद्योगमा एक/दुई घण्टा ट्रान्समिसन लाइनको कारणले लोड कम गर्ने कुरा प्राधिकरणले समयमा नै भन्ने गरेको हुन्छ, त्योबाहेक कहीँ पनि लोडशेडिङ भएको छैन ।’

निर्देशक घिसिङले रुस र युक्रेनबीचको युद्धको कारण बिजुली आपूर्तिमा देखिएको समस्याको प्रभाव मात्रै हो भन्ने कुरा उद्योगी व्यवसायीहरूले बुझ्नुपर्ने बताउनुभयो । उहाँले तीन महिना भारतबाट केही बिजुली आयात गर्ने तर असारबाट भारतलाई चार सय मेगावट बिजुली निर्यात गर्ने अवस्था रहेको बताउनुभयो । असारसम्म नेपालको बिजुली उत्पादन २३ सय मेगावट पुग्ने निश्चित रहेको उहाँकाे दाबी छ । 

बुधबार २३ चैत २०७८ ०५:५९ PM मा प्रकाशित

प्रतिक्रिया