×

नेपालकाे थप ३ सय २५ मेगावाट बिजुली किन्न भारत सहमत

images

काठमाण्डाै । भारतले नेपालका चार वटा आयोजनाबाट उत्पादित थप तीन सय २५ मेगावाट बिजुली किन्न सहमति जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आज बुधवार पत्रकार सम्मेलन गरेर भारतले विद्युत् प्राधिकरणका तीन वटा सहायक कम्पनी र एउटा निजी कम्पनीले उत्पादन गरिरहेको थप तीन सय २५ मेगावाट बिजुली भारतको प्रतिस्पर्धी बजारमा बेच्न नेपाललाई अनुमति दिएको जानकारी दिनुभयो । 

गएको शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भएको सम्झौतापछि भारतले नेपालबाट थप बिजुली लिने भएको हो । 

भारतले यसअघि १५ मेगावाटको देवीघाट र २५ मेगावाटको त्रिशुली जलविद्युत् आयोजनाको बिजुली मात्रै किन्दै आएकोमा अब कालीगण्डकी जलविद्युत् आयोजनाको एक सय ४० मेगावाट, मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट र मध्य मर्स्याङ्दी आयोजनाको ६८ मेगावाट बिजुली किन्न सहमति जनाएको मन्त्री भुसालले बताउनुभयो । यस्तै लिखु जलविद्युत् आयोजनाको ५१ मेगावाट बिजुली पनि नेपालले भारतलाई बेच्न सक्नेछ । 

अहिले सुक्खायामको समय भएकाले नेपाललाई नै बिजुली अपुग भएको तर असारपछि नेपालमा बिजुली धेरै हुने भएकाले भारतलाई बेच्न सुरु हुने ऊर्जा मन्त्रालयले जनाएको छ । 

बुधबार २३ चैत २०७८ ०४:४१ PM मा प्रकाशित

प्रतिक्रिया