×

रुस–यूक्रेन युद्धमा कसैलाई उक्साउनु गलत हुने चीनको भनाइ

images

चीनले रुस र यूक्रेन युद्धलाई धेरै नभड्काउन यूरोप अमेरिकासहित विश्व समुदायलाई आग्रह गरेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ्ग यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसंगको टेलिफोन वार्ताका क्रममा युद्धले यूक्रेनलाई सङ्कटमा धकेलेको भन्दै युद्धलाई थप बल दिने कुनै पनि गतिविधि गर्नु गलत हुने बताउनुभएको छ । 

चिनियाँ दैनिक ग्लोबल टाइम्सका अनुसार विदेशमन्त्री यीले आफूहरु रुस र युक्रेनबीच सिधा वार्ताको पक्षमा रहेको भन्दै संवादबाट मात्रै समस्या समाधान हुने प्रष्ट पार्नुभएको छ । रुसको निकट सहयोगीका रुपमा रहँदै आएको चीनले यूक्रेनमाथि रुसी आक्रमणबारे ओपचारिक रूपमा पक्ष वा विपक्षमा कुनै प्रतिक्रिया दिएको छैन । 

चीन, भारत र संयुक्त राज्य इमिरेट्स राष्ट्रसंघमा यूक्रेन युद्धलाई लिएर भएका महत्वपूर्ण मतदानमा अनुपस्थित भएका थिए । चीन यूरोपमा युद्धको पक्षमा नरहेको भएपनि तर उसको रूससँगको सैन्य सहकार्य पनि बलियो बनाउन चाहन्छ ।

चिनियाँ विदेशमन्त्री यीले रूस र युक्रेनबीच इमान्दार वार्ता गराउन र रुसको सुरक्षा चासो सम्बोधन गर्न अमेरिका, नेटो र युरोपियन युनियनलाई आग्रह गर्नुभएको पनि ग्लोबल टाइम्सले जनाएको छ । 

आइतबार​ २२ फागुन २०७८ ०९:३८ PM मा प्रकाशित

प्रतिक्रिया