×

उपाधिका लागि नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

images

काठमाडौँ, १९ कात्तिक : आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भइरहेको फाइनलमा नेपालले ओमानसामू जितका लागि एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनायो । नेपालका लागि गुल्शन झा र कप्तान रोहितकुमार पौडेलले ७८ रनको उत्कृष्ट साझेदारी गर्दै नेपालको इनिङ्स उकासे । 

 गुल्शनले सर्वाधिक ५४ रनको योगदान दिए । उनले २५ बलमा चार छक्का र पाँच चौकाको मद्दतमा ५४ रन बनाए । नेपालले पाँचौँ विकेटका रुपमा गुल्शनलाई गुमाएको थियो । त्यस्तै कप्तान पौडेलले अविजित ५२ रन बनाए । उनले ३७ बल खेल्दै पाँच चौका र दुई छक्काको मद्दतमा ५२ रन बनाए । 

 नेपालले पहिलो विकेटका रुपमा आशिफ शेखलाई गुमायो । छ बल खेलेको आशिफले एक छक्का प्रहार गरे । बिलाल खानको तेस्रो ओभरको चौथो बलमा आसिफ शेख कश्यप प्रजापतिबाट क्याच आउट भए ।

  त्यस्तै नेपालले दोस्रो विकेटका रुपमा सन्दीप जोरालाई गुमायो । सन्दीपले १० रन बनाए । उनले १३ बलमा एक चौका प्रहार गरे । जिसन मक्सुदको बलमा सन्दीप आउट भएका हुन् ।

यसैगरी कुशल भुर्तेललाई नेपालले तेस्रो विकेटका रुपमा गुमायो । कुशलले ३१ रन बनाए । उनले २२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । उनी  अकिब इलियासको बलमा आउट भए । चौथो विकेटका रुपमा अकिब इलियासले कुशल मल्ललाई तीन रनमा आउट गरे । 

त्यसैगरी विवेक यादवले तीन रन बनाएर आउट भए भने करन केसिले अविजित २० रन जोडे । बलिङतर्फ ओमानका बिलाल खानले तीन विकेट लिए भने अकिब इलियासले दुई विकेट लिए । त्यस्तै  जिसन मक्सुदले  एक विकेट लिए । यसअघि भएको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो । अहिले ओमान जवाफी ब्याटिङमा उत्रेको छ । 

आइतबार​ १९ कात्तिक २०८० ०१:०८ PM मा प्रकाशित

प्रतिक्रिया