×

अग्निपरीक्षामा केन्द्रीय तहका नेता

images

बर्दिबास । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन प्रचारप्रसारको औपचारिक चरणमा प्रवेश गरेको छ । मतदाताको मत जित्न उम्मेदवार तथा तिनका समर्थक सघन कार्यक्रममा जुटेका छन् । मतदाता रिझाउन सभा सम्मेलन, सम्पर्क तथा घरदैलोजस्ता कार्यक्रमका आयोजनाले जिल्ला निर्वाचनमय देखिएको छ ।

यादव, महतो, मुस्लिम र भूमिहार जातिको बाहुल्य रहेको महोत्तरीमा आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा अन्य जातिको मत निर्णायक हुने देखिएको छ । एउटै क्षेत्रमा यिनै जातिका एकभन्दा बढी उम्मेदवार चुनावी मैदानमा उत्रेकाले अन्य जातिको मत निर्णायक हुने आकलन गरिएको हो ।

निर्णायक मानिएका अन्य जातिका मन जित्न सबै उम्मेदवारले चुनावी अभियानलाई तीव्र पारेका छन् । तीन लाख ९७ हजार ३० मतदाता रहेको महोत्तरीमा प्रतिनिधि सभाका चार र प्रदेश सभाका आठ निर्वाचन क्षेत्र छन् ।

हरेक निर्वाचनमा मतदाता सङ्ख्या बढ्दै गएको महोत्तरीमा निर्वाचन क्षेत्र भने घट्दै गएको छ । २०४७ सालको संविधान आएपछि महोत्तरीमा पाँच निर्वाचन क्षेत्र निर्धारण गरियो । संविधान सभामा बढेर छवटा क्षेत्र पुगे तर पुनर्संरचनापछि महोत्तरी चार निर्वाचन क्षेत्रमा खुम्चियो । यसले चुनावी पृष्ठभूमिलाई नै प्रभावाति पारेको विश्लेषण गरिएको छ ।

महोत्तरीमा यस पटक २४ राजनीतिक दलका प्रतिनिधि सभातर्फ पाँच महिलासहित ६९ र प्रदेश सभातर्फ १६ महिलासमेत १७० उम्मेदवार चुनावी प्रतिस्पर्धामा होमिएका छन् । केन्द्रीय तहका नेतामध्ये लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महन्थ ठाकुर र शरतसिंह भण्डारी, माओवादीका गिरिराजमणि पोखरेल, कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमार राय र जनता समाजवादी पार्टी (जसपा)का हरिनारायण यादव, डा। सुरेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का वृषेशचन्द्र लाल, डा। विजयकुमार सिंहलगायतले परिणाम आफ्नो पक्षमा पार्न निकै प्रयासमा जुटेका छन् । नागरिक दैनिकबाट
 

शनिबार १९ कात्तिक २०७९ ०८:३८ AM मा प्रकाशित

प्रतिक्रिया