×

कोरोला नाकासम्मको पूर्वाधार निर्माण चाँडो सम्पन्न गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

images


गण्डकी, १८ असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खुलाउन सरकारको तयारी गरिरहेको जनाउँदै त्यहाँसम्म पुग्नका लागि सडकलगायतका आवश्यक पूर्वाधार निर्माण चाँडो सक्नुुपर्नेमा जोड दिनुुभएको छ ।

    मुस्ताङस्थित कोरोला नाकाको २४ नं सिमास्तम्भको स्थलगत निरीक्षण गर्दै उहाँले भन्नुभयो, “तिब्बततर्फ भौतिक संरचनाहरू निर्माण भइसकेको देखिन्छ, हाम्रोतर्फ पनि आवश्यक भौतिक संरचना छिटो निर्माण गर्नुपर्छ ।” नाका खोल्ने योजना भइरहँदा तिब्बततर्फ सबै तयारी भइसकेका अवस्थामा मुस्ताङतर्फ कुनैपनि संरचना नहुँदा समस्या आउनसक्ने उहाँले बताउनुुभयो ।

    सुरक्षा जाँच, भन्सार सञ्चालन आदिका लागि हाम्रो तर्फबाट पनि सडकलगायतका आवश्यक भौतिक पूूर्वाधार निर्माण जरुरी रहेको उहाँको भनाइ छ ।

    उहाँले हाल रहेको भन्सार र सुरक्षा जाँच नाकाभन्दा पिल्लर भन्दा नौ किलोमिटर तल रहेको उल्लेख गर्दै उहाँले नाकासम्म पुग्ने सडक स्तरोन्नति गरेर नियमित सवारी आवतजावत गर्न सक्ने बनाउनेतर्फ सरकारको ध्यान गएको बताउनुुभयो ।

    “कोरोला नाकासम्मको सडक पनि सङ्घ सरकारको गौरवको योजना हो, यसमा प्रदेश सरकारले पनि सहकार्य गरेको छ”, उहाँले भन्नुुभयो ।

    निर्माण व्यवसायीको ढिलासुस्तीले सडक निर्माणको काम सुस्त रहेको जनाउँदै उहाँले छिटो काम सम्पन्न गर्न प्रदेश सरकारले दबाव सिर्जना गर्ने बताउनुुभयो । नाका सञ्चालन सम्बन्धमा सङ्घ सरकार, प्रधानमन्त्री एवम् सम्बन्धित निकायसँग छलफल भइरहेको मुख्यमन्त्री पाण्डेले बताउनुुभयो ।

    सीमा नाका निरीक्षणसँगै गण्डकी प्रदेशस्तरीय सुरक्षा समिति र मुस्ताङ जिल्लास्तरीय सुरक्षा समितिको बैठक पनि कोरोलामा बसेको थियो । बैठकमा नाका र प्रदेशको सुरक्षा संवेदनशिलता, नाका खुल्दा र नखुल्दा आउन सक्ने चुनौती, समाधानका उपाय, स्थानीयको आवश्यकता लगायतमा छलफल भएको थियो । 

    उक्त निरीक्षणमा मुख्यमन्त्री पाण्डे, प्रतिनिधिसभा सदस्य योगेश गौचन, प्रदेशसभा सदस्य नाम्डु गुरुङ, बिकल शेरचनलगायतको सहभागिता थियो । मुख्यमन्त्री सहितको टोलीले सिमावर्ती क्षेत्रको गाउँमा पुगी छलफलसमेत गरेको थियो । प्रदेश सरकारबाट सञ्चालित योजनाको अवस्था, चालु वर्षमा बिनियोजित रकम, स्थानीयका समस्या र यसबारे प्रदेश सरकारले गर्न सक्ने सहयोग एवम् भूमिकालगायतका विषयमा छलफल गरिएको थियो ।

बिहीबार १८ असोज २०८० ०६:०८ PM मा प्रकाशित

प्रतिक्रिया