काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियमनमा मात्र सीमित नभई समस्या समाधान गर्ने अभिभावकीय नियामकका रूपमा प्रस्तुत हुन आग्रह गर्नुभएको छ। देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको घट्दो मनोबल उच्च बनाउन केन्द्रीय बैंकले लचिलो र व्यावहारिक नीति लिनुपर्नेमा उहाँले जोड दिनुभयो।
एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्रीले भन्नुभयो, "अहिलेको मुख्य चुनौती भनेको बजारमा साख सिर्जना गर्नु र निजी क्षेत्रको विश्वास जित्नु हो। राष्ट्र बैंकले कडाइ मात्र गर्ने नभई उद्योगी-व्यवसायीले भोगेका समस्याको ठोस समाधान खोज्ने भूमिका खेल्नुपर्छ।"
उहाँले बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय स्वास्थ्य मजबुत राख्दै गर्दा उत्पादनमूलक क्षेत्र, रोजगार सिर्जना र साना तथा मझौला उद्योग (SMEs) मा प्रवाह हुने कर्जालाई सहज बनाउनुपर्ने स्पष्ट पार्नुभयो। मौद्रिक नीति र राजश्व नीतिबीच समन्वय कायम गरी अघि बढेमा मात्र लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सकिने उहाँको भनाइ थियो।
सो अवसरमा उद्योगी तथा व्यवसायीहरूले ब्याजदर सन्तुलन, कर्जा पुनर्संरचना र लगानीमैत्री नीतिको माग गरेका थिए। अर्थमन्त्रीले निजी क्षेत्रका जायज मागहरूलाई सम्बोधन गर्न सरकार र राष्ट्र बैंक मिलेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
प्रतिक्रिया