×

नेपाल र भारतका सुरक्षाकर्मीले दशगजा क्षेत्रको अतिक्रमण हटाए

images

महोत्तरी जिल्लासँग जोडिएको नेपाल र भारतबीचको दशगजा क्षेत्रमा वर्षौंदेखि रहेको अतिक्रमण नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्तरूपमा आज हटाएका छन् ।

नेपालतर्फ महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ७ र ८ मा तथा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधवापुर सहरमा पर्ने सीमा स्तम्भ नम्बर २९५÷९ देखि सीमा स्तम्भ नम्बर २९५ सम्मको करिब तीन किलोमिटर अतिक्रमित दशगजा क्षेत्रलाई दुवै देशका संयुक्त सुरक्षाकर्मीले खाली गराएको सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वार्टर जलेश्वरले जनाएको छ । 

 नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वार्टर जलेश्वरका सशस्त्र प्रहरी नायब निरीक्षक रवीन्द्र मेहत्तरी सुडीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोली र भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधवापुर अवस्थित सीमा सुरक्षा बल (एसएसबी) का निरीक्षक ऋषिकेशकुमार तथा मधवापुर थानाका सहायक प्रहरी निरीक्षकद्वय बहादुर विभाकर र सियाराम शर्माको कमाण्डमा खटिएका सुरक्षाकर्मीहरूले अतिक्रमित दशगजा खाली गराएका हुन् ।

संयुक्त सुरक्षाकर्मीले दुवै देशतर्फ दशगजा क्षेत्रमा अतिक्रमण गरी स्थानीयले निर्माण गरेका घर, टहरा, गोठ, छाप्रोहरू हटाएका छन् । दशगजा क्षेत्रमा बाँधेर राख्ने गरेका मालमवेशी (वस्तु भाउ), भण्डार गरी राखेका घाँस, दाउरा, भुस, पराल, इँट्टा, ढुङ्गा, बालुवा र अन्य सामग्री पनि हटाइएको छ ।

त्यसैगरी वर्षौंदेखि दशगजा क्षेत्रमा नै पार्किङ गरी राख्दै आएका दर्जनौँ भारतीय नम्बरका गाडीहरू पनि आजदेखि त्यस क्षेत्रमा पार्किङ गर्न नपाउने गरी हटाइएको छ । 
 

शनिबार २० साउन २०८० ०९:४३ AM मा प्रकाशित

प्रतिक्रिया