×

पोखरा स्पोर्टस् अवार्डः इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

images

कास्की, २३ वैशाख : एथ्लेटिक्सकी खेलाडी इन्द्राकुमारी मल्ललाई पोखरा स्पोर्टस् अवार्डमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा खेलकुद क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै उहाँलाई सो अवार्ड प्रदान गर्न लागिएको हो । उहाँलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिनेछ ।

प्रतिभा छनोट समितिको सिफारिस अनुसार मल्ललाई अवार्ड प्रदान गर्ने निर्णय गरिएको मञ्चका अध्यक्ष दिननाथ बरालले बताउनुभयो । आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’ यही वैशाख २८ गते पोखरा सभागृहमा हुँदैछ । 

यस अगाडि यस अवार्डबाट कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई र विद्याप्रसाद मर्सानी सम्मानित भइसक्नुभएको छ । एथ्लेटिक्सकी मल्ल कहिल्यै नथाक्ने खेलाडीका रुपमा परिचित हुनुहुन्छ । उहाँ ४० वर्षदेखि खेलकुद क्षेत्रमा सक्रिय हुनुहुन्छ । 

विसं २०२४ मा भारतको अम्बला केन्ट पञ्जावमा बुबा स्व टीकाबहादुर मल्ल र आमा लक्ष्मीकुमारीको कोखबाट जन्मिनुभएकी ईन्द्रा सानैदेखि खेलकुदप्रति रुचि राख्नुहुन्थ्यो । आफ्नो समयको उम्दा खेलाडी ईन्द्राले दर्जनौँं पदक जित्नुभएको छ । 

उहाँले एथलेटिक्समा राष्ट्रिय किर्तिमानी पनि बनाउनु भएको छ । बुबा र मामाको प्रेरणाले  क्याम्पस जीवनमै खेलकुद सुरु गर्नुभएको थियो । उहाँ एथ्लेटिक्ससहित भलिबल, बास्केटबल, टेबलटेनिस लगायतका खेल खेल्नुहुन्थ्यो, तर उहाँको विशेष रुचि एथ्लेटिक्समा थियो । 

मल्ल एक सय मिटर, दुई सय मिटर, चार सय मिटर दौडमा सधँै प्रथम हुनुभयो । एक हजार पाँच सय मिटर, तीन हजार मिटर, पाँच हजार मिटर र १० हजार मिटरको समेत धाविका बन्नुभयो । 

अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्डसहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद सङ्घ संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिनुभयो ।

मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक/एक थान टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही रु ३५/३५ हजार नगद प्रदान गरिने मञ्चले जनाएको छ ।

आइतबार​ २३ बैशाख २०८१ ०८:५८ PM मा प्रकाशित

प्रतिक्रिया