काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सरकारले कार्यसम्पादनमा मूल्याङ्कनमा शून्य दिएको कुराले कुनै माने नराख्ने बताएका छन् । आज (बुधबार) नेपाल विद्युत प्राधिकरणको लुम्बिनी प्रदेश प्रादेशिक कार्यालय बुटवलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई सय वा शून्य अंकले केही फरक नपार्ने बताएका हुन् । ‘मलाई शून्य दिएपनि, सय दिएपनि त्यसले पनि माने राख्दैन,’– उनले भने ।
साथै, सरकारले आफूलाई आज हो कि भोलि हो गरेर हटाउने भन्ने हल्ला आइरहेको उनले बताए । आफूले अन्तिम मिनेटसम्म जिम्मेवारीमा रहेर काम गर्ने उनले बताए । सरकारले अहिलेसम्म आफूलाई ५-६ वटा स्पष्टीकरण सोधिसकेको र त्यसमा जवाफ पनि पठाएको उनले बताए ।
‘आज हो कि भोलि हो भन्ने हल्ला तपाईँहरुले सुन्नुभएको होला । तर, भएपनि लास्ट मिनेटसम्म काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो । मलाई ५-६ वटा स्पष्टीकरण सोधियो होला । जवाफ दिए होला, त्यसले माने राख्दैन,’– उनले भने ।
‘हामी सबैले राष्ट्रिय जिम्मेवारी लिएर काम गरिराछौँ। राष्ट्रिय जिम्मेवारी लिएर काम गर्दाखेरी जतिसुकै स्पष्टीकरण खानुपरेपनि एक घण्टा भएपनि काम गर्ने ताकत, ल्याकत राख्नुपर्छ’ उनले भने।
उनले आफू प्राधिकरणको कार्यकारी निर्देशक भएर आउँदा ५०/५५ प्रतिशत मात्रै बिजुली बलेको र त्यस्तो अवस्थामा पनि १६/१७ घण्टासम्म लोडसेडिङ रहेको स्मरण गरे। आफू प्राधिकरणमा आएपछि लोडसेडिङ अन्त्य गरेको, विकट गाउँमा करिब ९९ प्रतिशत स्थानमा २४ सै घण्टा बत्ति पुगेको बताए।
ऊर्जा मन्त्रालयले कुलमानलाई प्राधिकरणबाट हटाउन पटक पटक स्पष्टीकरण मागेको छ भने कार्यसम्पदान पनि कमजोर देखाउन शून्य अंक दिएको छ।
मन्त्रालयले पछिल्लोपटक पठाएको पत्रको जवाफमा कुलमानले ऊर्जामन्त्रीसँग स्पष्टीकरण लिने र कारबाही गर्ने कानुनी अधिकार नरहेको तर्क गरेका थिए।
प्रतिक्रिया