×

ओलीको बोलीप्रति सरकारको आपत्ति, ओलीले भ्रमपूर्ण प्रचार गरे

images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति नेपाल सरकारले आपत्ति जनाएको छ। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले विदेशलाई विद्यालय स्थापना गर्न दिन थालेको अध्यक्ष ओलीले एक कार्यक्रममा बताएका थिए। अध्यक्ष ओलीको सोही अभिव्यक्तिप्रति सरकारले आपत्ति जनाएको हो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञप्ति निकालेर पूर्व प्रधानमनत्री केपी शर्मा ओलीको भनाइ भनी सञ्चार माध्यममा सार्वजनिक समाचारप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन् ।

‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ,’ सरकारका प्रवक्ताको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं ।’

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासलाई पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकाले यस सम्बन्धमा के भएको हो त्यसको अध्ययन र आवश्यक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने पनि सरकारले स्पष्ट पारेको छ ।

विज्ञप्तिमा सरकारले विद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रूपमा यस्ता विषय श्रृंखलाबद्धरूपमा सार्वजनिक हुनु दुःखद छ। परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन।’

एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको आरोप लगाएका थिए ।

 

आइतबार​ २१ फागुन २०७९ ०९:४१ PM मा प्रकाशित

प्रतिक्रिया