×

मदन भण्डारी हत्याको छानबिन माग गर्दा २१ जनालाई हत्या गरियो : केपी ओली

images

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिन माग गर्दा २१ जना मानिसको हत्या भएको बताएका छन् । 

सुखानीको बलिदानको स्मृतिमा आयोजित ५० औं सहिद दिवसका अवसरमा एमालेले आइतबार गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन। साथै उनले २०४६ को परिवर्तनपछि समेत मानिसहरू मार्ने क्रम नरोकिएको बताए । सुखानीमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन्द्र राजवंशी,कृष्ण कुइकेल र नारायण राजवंशीको हत्या भएको थियो ।  

‘मदन भण्डारीको हत्या भयो, जीवराज आश्रितको हत्या भयो । त्यस प्रशंगमा हामीले छानबिन होस् भनेर माग गर्यौं । त्यो माग गर्दामात्रै २१ जनालाई गोली हानेर हत्या गरियो’, अध्यक्ष ओलीको भनाइ छ । 

आयोग बनाएर छानबिन गरिदेऊ भन्दा झापामा डिल्ली गौतमसहित थुप्रै ठाउँमा हत्या भएको अध्यक्ष ओलीको भनाइ छ । उनले बहुदल आएपछि कांग्रेसले डेमोक्रेसी रक्षाका लागि भन्दै अकारण गोली हानेर मार्ने गरेको बताए । उनले सशस्त्र जनयुद्धमा पनि धेरै मानिस मारिएको भन्दै २०६३ सालमा बृहत् शान्ति सम्झौतापछि राजतन्त्र हटेको बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०५२ सालपछि राजनीतिक स्वार्थका लागि १७ हजार मान्छे मारेको आरोप लगाए ।

‘नेपालमा भएको के थियो के प्राप्तिको लागि मारिए ? बहुदलीय व्यवस्था आएकै थियो । के को लागि मारिए त भन्दा अनौठो छ । आज गणतन्त्रका लागि भनिन्छ । ०६३ सालको सुरूमा द्वन्द्व र हिंसा समाप्त भयो । ०६३ सालमा वृहत शान्ति सम्झौता भयो कात्तिकमा ।’

उनले प्रश्न गर्दै भने, ‘६५ सालमा गएर राजतन्त्र संविधान सभाले हटायो भने जनयुद्धले त हटाएन होला ? जनयुद्धबाट कब्जा त गरेको होइन होला त ? संविधानसभाकै लागि १६ हजार मान्छे मर्नुपर्छ र ?’

‘राजनीतिलाई छलछाम र षडयन्त्रको खेल नबनाइयोस्,राजनीतिलाई आदर्श र समाज रुपान्तरणको माध्यम बनाइयोस्’, ओलीको भनाइ छ । 


 

आइतबार​ २१ फागुन २०७९ ०४:१३ PM मा प्रकाशित

प्रतिक्रिया