×

सुख्खा बन्दरगाह भन्सारबाट ११ कार्टुन सुकमेल चोरी

images

वीरगञ्ज (पर्सा), १८ मङ्सिर-  पर्साको वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट ११ कार्टुन सुकमेल चोरी भएको छ । काठमाडौँस्थित पशुपति एक्जिम प्रालिले दक्षिण अमेरिकाको ग्वाटेमालाबाट खरिद गरी ल्याएको २० फुटे आठ वटा कन्टेनरमध्ये दुई वटा कन्टेनरको सिल टुटाएर ११ कार्टुन सुकमेल चोरी भएको हो ।  

गत अक्टोबर १९ तारिकमा दुबई हुँदै विशाखापटम् बन्दरगाह भएर एक्सप्रेस–वे कन्टेन कम्पनीका आठ वटा कन्टेनरमा खरिद गरी ल्याइएको दुई सय कार्टुन सुकमेलमध्ये कन्टेनर नम्बर इएससियू २००२२०६ र इएससियू २००२२४८ को सिल हटाएर ११ कार्टुन सुकमेल चोरी भएको आयातकर्ता कम्पनीका वीरगञ्जस्थित प्रतिनिधि मधु बरालले जानकारी दिनुभयो । 

उहाँका अनुसार चोरी भएको ११ कार्टुनमा प्रतिकार्टुन ४० किलोका दरले चार सय ४० किलो सुकमेल रहेको थियो । चोरी भएको सुकमेलको मूल्य अन्दाजी रु १३ लाख ४२ हजार रहेको उहाँको  भनाइ थियो । सुख्खा बन्दरगाह भन्सार सञ्चालन गर्ने प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिका कामदारकै मिलोमतोमा सुकमेल चोरी भएकाले छानबिन गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको प्रतिनिधि बरालले जानकारी गराउनुभयो ।   

सुकमेल जाँचपास गर्न २० प्रतिशत भन्सार महसुल, दस प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर गरी ४३ प्रतिशत अर्थात् ८० लाख राजस्व तिर्नुपर्नेमा आयातकर्तासँग रकम अभाव भएपछि विगत दुई महिनादेखि चाँचपासका लागि सो कन्टेनर सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयमा अड्किएको थियो ।    यता उक्त कार्यालयका प्रमुख रामप्रसाद मैनालीले कन्टेनरको उक्त घटनाबारे अनुसन्धान भइरहेको र पछि थप विवरण उपलब्ध गराउने बताउनुभयो ।   

सोमबार १८ मंसिर २०८० ०२:२५ PM मा प्रकाशित

प्रतिक्रिया