×

शीर्ष नेताको देश दौडाहा सुरु

images

धनगढी। मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी राजनीतिक दलले चुनावी सभा गर्न थालेका छन्। निर्वाचन आयोगले १७ कात्तिकदेखि आमसभा गर्न खुला गरे सगै आफ्नो पक्षमा माहोल बनाउन दलहरुले देश दौडाहा सुरु गरेका छन् । 

चुनावी प्रचारप्रसारका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम पुगेका छन् । बिहीबार नै धनगढी पुगेका ओली आज  सुदूर पश्चिम प्रदेशको दार्चुलाबाट चुनावी सभाको सुरुवात गर्ने भएका छन् ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्येयका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो ।  ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ । ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नेछन् । 

एमाले अध्यक्ष ओलीले आजै बैतडी र कञ्चनपुरमा आयोजित जनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। ओली ४० जिल्ला पुगेर त्यहाँ हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ। एमालेले मुख्य प्रचारकका लागि हेलिकप्टर प्रयोग गर्ने अनुमति पनि निर्वाचन आयोगबाट लिइसकेको छ।    

यता कांग्रेसका सभापति देउवा पनि गृह जिल्ला डडेलधुरामा व्यस्त छन् । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका देउवा बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए । बिहीबार गृहजिल्ला डडेलधुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गरेका देउवा चुनावी सभामै व्यस्त बनेका छन् ।

प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार आज साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी र दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । देउवाले कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्नेछन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि धनगढी आउने तयारी छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षीराम आचार्यका अनुसार आज हुने प्रदेशस्तरीय छलफलले अध्यक्ष प्रचण्डको आगमनबारे निर्णय लिनसक्नेछ।  यतिवेला अध्यक्ष   प्रचण्ड पनि निर्वाचन क्षेत्र गोरखामा व्यस्त छन् । गोरखाको विभिन्न क्षेत्रमा आयोजन गरिएका चुनावी सभामा व्यस्त रहेका प्रचण्ड पनि कात्तिक २० गतेपछि गठबन्धनले आयोजना गर्ने प्रदेश सभाहरुमा व्यस्त हुने कार्यतालिका छ । 

एकीकृत समाजवादीले अछामबाट सभाको आयोजना गर्ने कार्यतालिका छ। एसका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहका अनुसार शनिबार अछामको साँफेबगरमा हुने चुनावी सभामा उपाध्यक्ष प्रमेश हमालले सम्बोधन गर्ने छन्। कैलाली, कञ्चनपुरमा हुने चुनावी सभामा अध्यक्ष माधवकुमार नेपाललाई पनि ल्याउने बारेमा छलफल भइरहेको प्रदेश अध्यक्ष सिंहले बताए। 

शुक्रबार​ १८ कात्तिक २०७९ १२:१३ PM मा प्रकाशित

प्रतिक्रिया