×

क्राइम रिपोर्ट- अपराध र अवैध घटनाहरूको बढ्दो ग्राफ, प्राकृतिक विपद् र जोखिम उच्च

images

काठमाडौं । देशका विभिन्न स्थानबाट आपराधिक घटनामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आज (सोमबार) आपराधिक घटनामा संलग्न भएको अरोपमा प्रहरीले पक्राउ गरेको हो । 

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बुढानिलकण्ठ नगरपालिका कपन बस्ने रामेछाप मन्थली नगरपलिका–११ घर भएका ३० वर्षीय निरज मगर (सुमन थापा)लाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–३१ शङ्खमूलमा सुरज खड्कालाई २०७८ चैत ९ गते दिउँसो धारिलो हतियार (खुकुरी) प्रहार गरी फरार मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चाबहिलबाट पक्राउ गरेको हो । 

मगरलाई ज्यान मार्ने उद्योग कसूरमा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

त्यस्तै अवैध कार्यमा संलग्न अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–६ बैशाखा पुलबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ९५ मिलिग्रामसहित सोही नगरपालिका–४ आमबगैया बस्ने ३८ वर्षीय रामसिंह बुढालाई प्रहरीले पक्राउ गरेको हो । 

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.२ प ८४१५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

त्यसैगरी नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–६ लङ्गडिपाकड बस्ने २७ वर्षीय चन्दन हरिजन बर्दघाट नगरपालिका–१२ भटौलियास्थित हुलासी खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बाजुराको हिमाली गाउँपालिका–१ नेटा घर भई सोही नगरपालिका–१ बिच्छिया बजारमा होटल सञ्चालन गरी बस्ने तारा थापाकी छोरी १५ वर्षीया सर्पनशिला थापा सोही ठाउँस्थित बिच्छिया खोलाको बिच भागमा मृत अवस्थामा फेला परेकी छिन् । 

शनिबारदेखि हराएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको बाजुरा प्रहरीले जनाएको हो । 

रूपन्देहीको मायादेवी गाउँपालिका–७ स्थित घाँघर खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

काठमाडौं महानगरपालिका–१८ डल्लुस्थित पुरानो पुलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष मृत अवस्थामा फेला परेको सोह्रखुट्टे प्रहरीले जनाएको छ ।

यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । घटना कसरी घटेको हो भन्नेबारे पुष्टि नभइसकेकोले अनुसन्धानमा संलग्न प्रहरीहरूको भनाइ छ । 

रूकुम पश्चिमको चौरजहारी नगरपालका–६ घर्तीकाँडास्थित न्याउँला ठाडो खोलाले बगाएर दुई जनाको आइतबार दिउँसो मृत्यु भएको छ । 

मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने रत्न बुढाथोकीको छोरा १० वर्षीय मनोज बुढाथोकी र छोरी ६ वर्षीया भावना बुढाथोकी रहेका छन् ।

उनीहरू विद्यालयबाट घर फर्किने क्रममा उनीहरूलाई खोलाले बगाएर बेपत्ता भएको खबर प्राप्त भएपश्चात् ईलाका प्रहरी कार्यालय चौरजहारीबाट र

प्रहरी चौकी सर्केनाबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा शव फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । 
बागलुङको काठेखोला गाउँपालिका–१ पाला बस्ने ५४ वर्षीय जीतबहादुर किसानको करेन्ट लागेर गएराति मृत्यु भएको छ ।  

आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा आइतबार बेलुकी करेन्ट लागेर गम्भीर घाइते भएका उनको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–५ कुलुङ मार्ग बस्ने सुनिल विकको सोही महानगरपालिका–३ स्थित सुन पसलबाट सटर काटेर करिब २५ लाख ६९ हजार १ सय ८२ रूपैयाँ बराबरको सुन तथा चाँदीका गहना आइतबार चोरी भएको छ ।

काठमाडौं तारकेश्वर नगरपालिका–११ नेपालटार हिलेटोल बस्ने ५० वर्षीय अमृतमान महर्जनको घरबाट कोही नभएको अवस्थामा करिब ५ लाख ११ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गहना आइतबार दिउँसो चोरी भएको छ ।

त्यसैगरी काठमाडौं महानगरपालिका–२६ रानीबारी डेरा गरी बस्ने २२ वर्षीया एलिना घलेको कोठाबाट दराज फोडेर करिब ४ लाख ६२ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गहना आइतबार दिउँसो चोरी भएको छ । 

प्रहरीले चोरीमा संलग्न हाल फरारहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–८ त्रिभुवन चोक बस्ने अप्पर अन्सारीको आफ्नै घरमा रहेको नेपाल कलेक्सन फेन्सी पसलमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा पसलभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । 

आगलागीबाट भएको क्षतिको विवरण हालसम्म नखुलेको प्रहरीले जनाएको छ । 

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । 

पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशैभरी आपराधिक, चोरी तथा अवैध कारोबारमा संलग्नहरूको ग्राफ ह्वात्तै बढेको छ । यसले सुरक्षामा चुनौती थपिएको छ । 

नागरिकको धनजनको क्षति कम गर्न हामी प्रयासरत छौँ । यस्ता घटनाको नियन्त्रणका लागि प्रहरी हरहमेशा तयार रहेको प्रवक्ता कुवेर कडायत बताउँछन् । त्यस्तै उनले प्राकृतिक विपद् र जोखिमका घटनाहरू बढेकोले आवश्यक सतर्कता अपाउनसमेत आग्रह गरेका छन् ।
 

सोमबार १८ भदौ २०८० ०५:१७ PM मा प्रकाशित

प्रतिक्रिया