×

रास्वपामा विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुख हुनका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने

images

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको छ । बिहीबार अपराह्न बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय विभागको पदाधिकारी तथा सदस्य हुन स्नातकोत्तर तह उत्तीर्ण वा सम्बन्धित विषयमा १० वर्ष काम गरी असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड तोकेको हो ।

 रास्वपाको संगठात्मक ढाँचामा केन्द्रीय समिति, प्रदेश समिति, पालिका समिति र वडा समिति रहने व्यवस्था गर्न लागेको हो । पालिका तहका विभागको प्रमुख बन्न स्नाताक तह उत्तीर्ण गरेको वा सम्बन्धित विषयमा ५ वर्ष काम गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ।

पालिका तहको विभागको सदस्य हुन भने माध्यामिक तह अर्थात् कक्षा १२ सम्म अध्ययन गरेको अथवा दुई वर्ष काम गरेर असाधारण क्षमता प्रदर्शन हुनुपर्ने योग्यता निर्धारण गरेको हुनुपर्ने मापदण्ड तय भएको महामन्त्री मुकुल ढकालले बताए।

उनले भने, ‘समितिको सदस्य हुन चाहिने मापदण्ड भनेको भेला वा अधिवेशनबाट निर्वाचित हुनु हो । यसमा पार्टी सदस्यबाहेक अन्य मापदण्ड तोकिएको छैन । त्यस्तै केन्द्रीय समितिअन्तर्गत रहने गरी केन्द्रीय विभागहरू, प्रदेश समितिअन्तर्गत रहने गरी प्रदेश विभागहरू र पालिका समिति अन्तर्गत रहने गरी पालिका विभागहरू हुनेछन् ।’

पार्टीलाई आवश्यक विज्ञताका लागि ३६ वटा विभागहरूको व्यवस्था गरेको ढकालले जानकारी दिए । अर्थ नीति विभाग, शिक्षा विभाग, स्वास्थ्य विभाग, कृषि विभागलगायत विभागको व्यवस्था गरिएको उनको भनाइ छ । 
 

शुक्रबार​ १९ साउन २०८० १२:४८ PM मा प्रकाशित

प्रतिक्रिया