×

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै आन्दोलन

images

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडक लामो समयदेखि मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको भन्दै स्थानीयवासीले आन्दोलन सुरु गरेका छन् । राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपर्दा सवारीसाधन सञ्चालन गर्न असहज भइरहेको र धुलोका कारण व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै स्थानीयवासीले आन्दोलन सुरु गरेका हुन् । 

    हिजो तीन घण्टा राजमार्ग आवरुद्ध पारेका उनीहरुले सडक मर्मत नगरिए अझ सशक्त आन्दोलन गर्ने बताएका छन् । बजार क्षेत्रको करिब तीन किलोमिटर सडक विगत केही वर्षदेखि भत्किएको र सधैँ धूलो, धुँवा र हिलोबाट आफूहरु पीडित बनेको स्थानीय व्यापारी अशोक साहले बताउनुभयो । सडकको खाल्डाखुल्डी पुर्न र मर्मत गर्न पटकपटक जिल्ला प्रशासन कार्यालय, मिर्चैया नगरपालिका, सडक डिभिजन कार्यालयलगायत निकायलाई गुहारे पनि सुनुवाई नभएकाले आन्दोलनमा उत्रिनु परेको उहाँको भनाइ थियो ।   

    दैनिक हजारौँ सवारीसाधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप हुदाँ पनि सम्बन्धित सरोकारवाला निकायले मर्मतसम्भार गर्न ध्यान नदिएको उनीहरुको आरोप छ ।  राजमार्गको ठाउँठाउँमा गरिएको कालोपत्रे अघिल्लो वर्ष अविरल वर्षाका कारण भत्किदा पनि अझैसम्म टालटुल हुन सकेको छैन । मिर्चैयाको थाना चोक, कटारी चोक र पश्चिम बस स्टेसनमा रहेका ठूलाठूला खाल्डाखुल्डीले पैदल यात्रीलाई पनिआवातजावत गर्न समस्या भइरहेको छ । 

    सडकमा रहेका खाल्डाखुल्डी पार गर्न चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढेको र चालकले पनि जोखिम मोलेरै सवार िसाधान चलाइरहेकाले छिटै कालोपत्रे गरेर दिगो समाधान गर्न ध्यान दिनुपर्नेमा उनीहरुको जोड थियो । नगरप्रमुख श्रवणकुमार यादवले सडकको अवस्थाप्रति आफूहरु चिन्तित रहेको उल्लेख गर्दै समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो ।

शनिबार २१ जेठ २०७९ १२:४५ PM मा प्रकाशित

प्रतिक्रिया