×

आयोग गठन लगतै मिटरब्याज पीडितको आन्दोलन फिर्ता, अर्को समुहको आन्दोलन भने जारी

images

 
काठमाडौं । सरकारले आयोग गठन गरे लगतै मिटरब्याज पीडितले १९ दिनदेखि गर्दै आएको आन्दोलन फिर्ता भएको छ । 

मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले बिशेष अदालतको पूर्व अध्यक्ष गौरीबहादुर केसीको संयोजकत्वमा जाँचवुझ आयोग गठन गरेको छ । आयोगमा  नेपाल प्रहरीका पूर्व एआईजी उत्तम सुवेदी र महान्यायधिवक्ता कार्यालयका पूर्व नायव महान्यायधिवक्ता गणेशबहादुर आर्याल सहभागि छन् । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो ।

मिटरब्याज विरुद्ध संघर्ष समितिले उच्चस्तरीय आयोग गठनको माग गर्दै गत २ चैतदेखि आन्दोलन गर्दै आएका थिए । यहीक्रममा उनीहरु महोत्तरीको बर्दिवासदेखि १२ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका थिए । काठमाडौंमा चरणवद्ध आन्दोलन गर्न थालेपछि सरकारले उनीहरुसँग वार्ता गर्न टोली गठन गरेको थियो । सोही टोलीले शनिवार उनीहरुसँग पाँच वुँदे सहमति गरेको थियो ।

सहमतिमा पीडितको समस्या सम्वोधन गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्ने र आयोग गठन लगतै विरोेधका सबै कार्यक्रम फिर्ता लिने लगायतका वुँदा समेटिएका थिए । सोही सहमति अनुसार संघर्ष समितिले आन्दोलन फिर्ता लिएको हो । उत्ता, मिटरब्याज पीडितको अर्को समुह मिटरब्याज तथा ठगि विरद्ध किसान–मजदुर संघर्ष समितिले भने सोमवारबाट आन्दोलन सुरु गरेको छ ।

उनीहरुले आन्दोलनका कार्यक्रमको सम्वन्धमा मंगलवार दिउँसो पत्रकार सम्मेलन नै राखेका छन् । रत्पार्कस्थित शान्ति बाटिकामा रहेका उनीहरुले सोमवार दिनभर माइतीघर मण्डालामा बिरोध प्रदर्शन गरेका थिए ।    
 

मङ्गलबार २१ चैत २०७९ १०:४१ AM मा प्रकाशित

प्रतिक्रिया