×

रवि लामिछाने विरुद्ध मुद्दाको सुनुवाइ अनिल सिन्हाको इजलासमा

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको प्रारम्भिक सुनवाइ आजबाट हुँदैछ । सर्वोच्च अदालतमा सोमबार दर्ता भएको रिटमा मंगलबार न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासमा सुनुवाइ हुने भएको हो।

सर्वोच्च अदालतको वेबसाइटका अनुसार युवराज पौडेल (सफल) ले दिएको रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा सुनुवाइ हुन लागेको छ।लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णय दुराग्रहपूर्ण रहेको भन्दै पौडेल सर्वोच्च अदालत गएका हुन्।

लामिछानेमाथि राहदानी विवादमा मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर हुनुपर्ने पौडेलको पहिलो माग छ। यसअघि राहदानी  दुरुपयोसम्बन्धी मुद्दा प्रहरी र सरकारी वकिल कार्यालयले नचलाउने निर्णय गरेका थिए। मुद्दा नचलाउने निर्णयविरुद्ध सफलले महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट हालेका थिए। 

रवि लामिछाने २०७० फागुन ९ मा अमेरिकी नागरिक भएका थिए। अमेरिकी राहदानी रहेका र अमेरिकी नागरिक हुँदा हुँदै नेपाली राहदानी २०७२ जेठ १३ गते लिएका थिए।  उक्त प्रकरणमा रविलाई कारबाही गरी पाउन मागसहित सफलले गत माघ १७ मा जाहेरी दिएका थिए। लामिछानेले पनि नेपाली नागरिकता लिएको बयानको क्रममा स्वीकार गरिसकेका थिए। 

नेपालमा दोहोरो नागरिकताको प्रणाली नभएको र विदेशको नागरिकता प्राप्त गरे पश्चात नेपाली नागरिक कायम नहुने ब्याख्या भएको निवेदनमा उल्लेख छ। राहदानी ऐन २०७६ को दफा २१ (क) मा झुटा विवरण दिइ राहदानी लिन नहुने उल्लेख छ। यदि लिएमा भने दफा २२ बमोजिम दुई लाखदेखि पाँचलाख रूपैयाँसम्म जरिवाना वा एकवर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

मङ्गलबार २१ चैत २०७९ ११:२५ AM मा प्रकाशित

प्रतिक्रिया